छिमेकी वडाहरुमा शुक्ला गण्डकीको महायज्ञ प्रचार

पोखरा, ४ चैत /माछापुच्छे गाउँपालिका वडा नं ३ घाचोकमा रहेको शुक्ला गण्डकी माविमा हुन गईरहेको धनधान्यान्चल ज्ञान महायज्ञको प्रचारप्रसारलाई छिमेकी वडाहरुमा सुरु गरिएको छ । प्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेर २०७५ वैशाख ११ देखी १८ गतेसम्म विद्यालयमा हुने महायज्ञको गाउँपालिकाका वडाहरुमा प्रचार गर्ने हेतुले आईतवार लाहाचोक तथा ल्वाङघलेलका सैतीघट्ट र लुम्रेमा स्थानीयहरुसँग छलफल गरिएको मूल आयोजक समितिका संयोजक रविलाल पोखरेलले जानकारी दिए ।

प्रचारको क्रममा लाहाचोकमा स्थानीय वेणीमाधव अधिकारीको संयोजकत्वमा महायज्ञ सहयोग समवय समिति गठन गरियो । प्राविधिक शिक्षालय वर्तमानको आवश्यकता भएको र सवै गाउँवासीहरु सहयोगको लागि तत्पर रहेको प्रतिवद्धता अधिकारीले व्यक्त गरे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख यमवहादुर गुरुङले महायज्ञलाई सफल वनाउन सहयोगको आश्वासन दिए । सैतीघट्टमा रहेको गौरीशंकर मनिलाल माविका प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि तथा स्थानीयको भेलाले टेकवहादुर श्रेष्ठको संयोजकत्वमा महायज्ञ समन्वय समिति गठन गरेको छ ।

तारेवराह आधारभुत विद्यालय लुम्म्रेमा विद्यालय व्यवस्थापन समितिको समन्वयमा प्राधिधिक शिक्षाका विषयमा छलफल गरि सहयोगको आग्रह गरिएको थियो । संरक्षण क्षेत्र आयोजन व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङ तथा स्थानीय आमा समुहहरुले महायज्ञ हुन लागेको खुशी व्यक्त गर्दै आफुहरुको तर्फवाट धेरैभन्दा धेरै सहभागिताको लागि प्रयास गर्ने भनाई राखे ।

विराट शैक्षिक श्रीमद्भागवत धनधान्यान्चल मूल आयोजक समितिका संयोजक रविलाल पोखरेलको नेतृत्वमा विद्यालयका प्रधानाध्यापक शान्तिरमण पोखरेल, मूल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेल, मूल आयोजक समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, टीकारमा लम्साल, भूपूू वडा अध्यक्ष गीतादेवी पोखेरेल, विद्यालयका शिक्षक वावुरामा पोखरेल, सुरजमोहन पोखरेल, युवा नेता केशव पोखेरल, वेणीमाधव अधिकारी लगायत प्रचारको लागि पुगेका थिए । सार्दिखोला, पुरुन्चौर तथा पोखरा लेखनाथका केही वडाहरुमा समेत घरदैलो तथा प्रचारप्रसार गरिएको महासचिव मौसम कार्कीले जानकारी दिए ।

कमेन्टहरु
Loading...