ज्येष्ठ नागरिकमैत्री कानून बन्नेछः उपसभामुख शर्मा

पोखरा, २२ चैत/उपसभामुख सिर्जना शर्माले अब बन्ने कानुन ज्येष्ठ नागरिकमैत्री हुने बताएकी छन् । पोखरा वृद्धाश्रममा बिहीबार आयोजित अन्तक्र्रियामा बोल्दै उनले सो कुरा बताएकी हुन् । ज्येष्ठ नागरिक समाजका धरोहर भएको उल्लेख गर्दै उपसभामुख शर्माले प्रदेश सरकार ज्येष्ठ नागरिकको हितका लागि सचेत रहेको उल्लेख गरिन् ।

वृद्धाश्रमका संस्थापक अध्यक्ष वसन्तकेशव पराजुलीले प्रदेश ४ कै नमूना वृद्धाश्रम बनाउन प्रदेश सरकारले पहल गर्नेमा अपेक्षा गरे । उनले वृद्धाश्रममा कर्मचारीलाई पारिश्रमिक समेत दिन अप्ठ्यारो परेको गुनासो गर्दै सबैको साथ र सहयोगले संस्था चलेको बताए ।

संस्थाका उपाध्यक्ष कुसुमकेशव पराजुलीले वृद्धवृद्धाको स्वास्थ्य जाँचका लागि नर्सको व्यवस्था हुनुपर्ने बताए । वृद्धाश्रम अध्यक्ष टीकाबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का नागरिक मञ्च अध्यक्ष टोपराज ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए । पोखरा १७ ढुंगेसाँघुस्थित वृद्धाश्रममा हाल ६० जना वृद्धवृद्धा आश्रित छन् ।

कमेन्टहरु
Loading...