एसएलसी उत्तीर्ण पहिलो महिलालाई टेवानको सम्मान

पोखरा, ९ भदौ / बैदामबाट एसएलसी उत्तीर्ण पहिलो महिला नानीमाया सिग्देललाई पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सम्मान गरेको छ । टेवानले दोस्रो वार्षिक साधारणसभाको अवसरमा आइतबार पोखरामा उनलाई सम्मान गरेको हो ।

सिग्देलले २०२४ सालमा मालेपाटनको बाराही माविबाट एसएलसी उत्तीर्ण गरेकी हुन् । उनी सम्भवतः एसएलसी उत्तीर्ण गर्ने कास्कीकै पहिलो महिला हुन् । उनलाई प्रदेशसभा सदस्य ललितकला गुरुङले सम्मानपत्र प्रदान गर्नि । सिग्देलले आफ्नो समयमा अध्ययन गर्दाको अनुभव कार्यक्रममा सुनाइन् ।

‘बैदामबाट भीमकालीपाटन ट्युसन पढ्न हिडेर जानुपथ्र्यो,’ उनले भनिन्, ‘किताब पढ्दैपढ्दै जान्थे, पढ्दैपढ्दै फर्किन्थेँ ।’ टुकीको भरमा पढेकी उनले विजुलीको स्वीच पृथ्वीनारायण क्याम्पस भर्ना भएपछि मात्रै देखेको स्मरण गरिन् । ‘अहिले पढ्न सुविधा छ तर पढेका जति विदेशिने क्रम बढेको छ,’ उनले भनिन्, ‘हाम्रा छोराछोरीलाई सक्दो पढाउनुपर्छ । विदेश पढ्न पठाएपनि देशमै सेवा गर्न फर्कानुपर्छ । उनीहरुलाई त्यो वातावरण सरकारले बनाइदिनुपर्छ ।’

सांसद ललितकला गुरुङले पढेको जनशक्ति बाहिरिने क्रम रोक्ने योजना ल्याउनुपर्ने बताइन् । उनले पर्यटनमा विकास भित्र्याउँदा विकृति पनि सँगै भित्रिनेप्रति सजग रहन आग्रह गरिन् । टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले महिलाले महिलालाई सम्मान गर्ने उद्देश्यले नानीमाया सिग्देललाई सम्मान गरिएको बताइन् ।

उनले कसैको खुट्टा तान्न नभइ हात समाएर अघि बढ्न टेवानको गठन भएको उल्लेख गरिन् साधारणसभामा टेवान महासचिव कमला गिरीले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । साधारणसभामा वर्षभरि विभिन्न कार्यक्रमको संयोजक भएका टेवानका शोभा पाण्डे न्यौपाने, शोभा पौडेल, इश्वरी पौडेल, प्रभा सुवेदी र कमला गिरीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेल, पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख काशिराज भण्डारी, पश्चिमाञ्चल होटल संघका प्रथम उपाध्यक्ष, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सन्तोष पोखेल, टान पोखरा अध्यक्ष हरि भुजेल, पर्यटन व्यवसायी गणेश भट्टराई, पोखरा–६ का अध्यक्ष जगतबहादुर पहारी लगायतले बोलेका थिए । साधारणसभाकै अवसरमा हिन्दु महिलाको पर्व तीजको दर खाने कार्यक्रम राखिएको टेवान उपाध्यक्ष रेनु थापाले बताइन ।

कमेन्टहरु
Loading...