कुकुरलाई बचाउन खोज्दा सेतीखोंचमा

सन्तोष पोखरेल
पोखरा – पोखरा बसपार्कको मोटर ग्यारेजमा काम गर्ने २२ वर्षीय आकाशको साथी थियो रक्की (कुकुरको नाम) । आकाशलाई देख्नासाथ काखमा लुटपुटिने रक्की खाना खाँदा पनि साथमै हुन्थ्यो । आकाश पनि रक्कीलाई धेरै माया गर्थे, आफ्नो भाग चुँडेर खुवाउँथे, मुसार्थे अनि फुर्सद पाउँदा काखमा लिन्थे । आकाशको खाना पाउँदा रक्की झनै खुसी हुन्थ्यो । आकाशसँगै खेल्ने चाहना रक्कीले पनि राख्थ्यो ।

त्यही रक्की केही दिनदेखि हराउँदा सबैभन्दा बढी चिन्तित थिए आकाश । किनकि, रक्कीले आकाशलाई साथ दिन्थ्यो, माया देखाउँथ्यो, देख्नासाथ पुच्छर हल्लाउँथ्यो अनि खेल्न र लुटपुटिन आउँथ्यो। हराएको रक्की कहाँ गयो होला, के खायो होला भनेर सोच्थे आकाश । कतैबाट रक्की दौडँदै आइहाल्छ कि भन्ने लाग्थ्यो आकाशलाई ।

रक्की त हरायो तर त्यसको आवाज भने आकाशको मात्र नभई टोलका धेरैका कानमा गुन्जिरहेको थियो। कता हो कताबाट रक्कीको आवाज आएजस्तो सबैले सुनिरहेका थिए। सोमबार बिहान सवा ७ बजेतिर दाँत माझ्दै रक्कीको आवाज पहिल्याउँदै ग्यारेज पछाडि पुग्दा उनी एक्कासि सेतीको खोंचमा खस्न पुगे। सुरुमा त आकाशले पनि भेउ पाएनन् तर खोंचमा खसेको चाल पाएपछि उनी एकाएक अत्तालिए। केही परको दुरीको खसेको भए त साँघुरिएर बगेको सेतीको पानीमै पुग्थे तर संयोगवश बीचमै अड्किए ।

आकाश हराएपछि ग्यारेजमा सँगै काम गर्ने साथीहरूले चिच्याउँदै खोंचतिर नियाल्न थाले। आफूलाई बोलाएको सुनेपछि आकाशले खोंचमा अड्किएको जनाउ दिए। त्यो खबर प्रहरीकहाँ पनि पुग्यो। बैदाम चौकी र गणको उद्धार टोली तत्काल उद्धारमा खटियो र आकाश–रक्कीलाई बचायो। आकाश उपचारपछि घर फर्किए।

पोखराको मध्य भाग भएर बग्ने सेती नदी भित्रभित्रै लुकेको छ। खोंचबाहेक आसपासका छेउमा पर्याप्त खाडल छन्, त्यसमा कहिले मान्छे त कहिले पशु खस्न पुग्छन्। खोेंचमा खसेका जोकोहीले तत्कालै उद्धार नपाए ज्यानै गुमाउँछन्। त्यसो त सेतीमा खसेपछि उद्धार पनि उत्ति सहज छैन। बेग्लै तरिका अपनाउनुपर्छ। नत्र खोजीमा खटिने व्यक्तिसमेत जोखिममा पर्छ। तर संयोगले सोमबार आकाश भने केही माथि अड्किएकाले जोगिए। आकाश मात्र जोगिएनन्, उनको प्यारो साथी रक्की पनि त्यही खोंचमा जीवितै भेटियो।

सेती खोंचको छेउमै रहेको ग्यारेजमा चारपाँच वर्षदेखि काम गर्थे म्याग्दी बाबियाचौर घर भएका आकाश। उनले कक्षा ९ सम्म अध्ययन गरेका छन्। आकाश बीचैमा पढाइ छाडेर ग्यारेजमा खटिएका थिए। उनीसँगै ग्यारेजमा आठजना युवा बस्थे। आकाशका बुबाआमा पनि पोखराको दीपमै बस्छन्। दाजु लेकसाइडमा काम गर्छन्। बुबा तुलबहादुर ट्रेकिङ गाइड हुन्। ग्यारेजमै खटिँदा छेउकै अर्काे ग्यारेजका सञ्चालकले पालेका थिए रक्कीलाई। तर रक्कीको दोस्ती भने आकाशसँग थियो। त्यही भएर रक्की सकभर आकाशलाई छाड्न चाहँदैनथ्यो।

‘सानैदेखि रक्की मसँगै खेल्थ्यो। भाग चुडाएर भए पनि रक्कीलाई खुवाउँथे, मासु भनेपछि रक्की साह्रै नै खुसी हुन्थ्यो,’ आकाशले भने, ‘मलाई पनि फुर्सदमा रक्कीसँग खेल्न पाउँदा रमाइलो लाग्यो।’ एकाएक हराए पनि रक्कीको आवाज भने कता हो कता उनले पनि सुनेका थिए। त्यही आवाज पछ्याउने क्रममा सोमबार बिहान आफू खोंचमा खसेको उनले बताए। ‘खोंचबाट आवाज आएजस्तो लागेको थियो। यस्तो खाडलतिर जाँदा त चिप्लिएर आफैं खोचमा खसेछु,’ उनले भने, ‘झन्डै बीचमै अड्किएछु, नत्र त केही दूरी पर खसेको भए सिधै सेतीको पानीमा बग्ने रहेछु।’

आकाशभन्दा केही तल त्यही अड्किएको थियो रक्की। रक्कीले एकाएक आकाशलाई देख्दा झनै माया दर्साएको उनले बताए। ‘माथिबाट साथीहरूले मलाई बोलाएका रहेछन्। मैले अप्ठेरोमा अड्किएको अनुभव नै गरेको रहेनछु। किनकि, रक्कीलाई देख्दा म खुसी थिएँ। रक्की पनि मलाई देख्दा खुसी देखिन्थ्यो,’ आकाशले सुनाए, ‘तर माथि उक्लिन भने निकै कठिन रहेछ। पछि उद्धारकर्ताले डोरीको सहायताले हामीलाई बाहिर निकाले। बाहिर निस्केपछि मात्र धन्न ज्यान गएन भन्ने लाग्यो ।’

आकाशका बुबा तुलबहादुरका अनुसार व्यस्तता र बिहान–बेलुका आउजाउ गर्दाको झन्झटले उनी ग्यारेजमै बस्थे। ‘काममा सुविधा होस् भनेर हामीले आकाशलाई ग्यारेजमै बस्न दिएका हौं,’ तुलबहादुरले भने, ‘धन्न ज्यानै जाने अवस्था आएन। बेलैमा सूचना पाउँदा छोराको ज्यान जोगियो।’ तुलबहादुरका दुई छोरामध्ये आकाश कान्छा हुन्। ‘आकाश कुकुर भनेपछि सानैदेखि हुरुक्क हुन्थ्यो। खानेकुरा दिने भएकाले रक्की आकाशकै साथी बनेको थियो,’ उनले भने, ‘रक्की आकाशलाई छाड्नै चाहन्नथ्यो। कुकुर हराएको भनेर आकाशले हामीलाई समेत भनिसकेको थियो।’ उद्धारपछि घाउचोट नभएकाले आकाश बुबाआमासँगै दीपमा बस्न पुगेका छन् ।

आकाश सेती नदीभन्दा केही माथी खोंचमा अड्किएको अवस्थामा आफूहरूले उद्धार गरेको नेपाल प्रहरीको उद्धार टोलीका संयोजक श्याम श्रीवास्तवले बताए। ‘उनी खोचमा नअड्किएको भए उद्धार गर्न समस्या पथ्र्यो,’ उनले भने, ‘नदीमै परेको भए बगाउँथ्यो।’ श्रीवास्तवका अनुसार उद्धार गर्दाको अवस्थासम्म आकाश निकै त्रसित अवस्थामा भेटिएका थिए। ‘अप्ठेरो खोंचका बाबजुद हामीले डोरीको सहायताले झुन्डिएर आकाशसम्म पुग्यौं र जीवितै उद्धार गर्न सकियो,’ उनले भने ।

नागरीक दैनिकमा खबर छ ।

https://nagariknews.nagariknetwork.com/news/116471/

कुकुरलाई बचाउन खोज्दा सेती नदिमा खसेकाको उद्धार गर्दै

कुकुरलाई बचाउन खोज्दा सेती नदिमा खसेकाको उद्धार गर्दै

Posted by Ganthan.com on Monday, February 10, 2020

कमेन्टहरु
Loading...