सार्दीखोलामा कला कार्यशाला

पोखरा, २६ माघ /मोफसलको कला विकासकालागि कास्कीको पर्यटकीय गाउँ सर्दीखोलामा दुई दिने कला कार्यशाला भएको छ । नेपाली कला विकाशकालागि आधुनिक धारको कला कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा क्यानभासमा एक्रेलिक रङको प्रयोग गरि २५ चित्र तयार गरिएको थियो ।

सार्दीखोलामा कला कार्यशाला
सार्दीखोलामा कला कार्यशाला

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभागको आयोजनामा भएको कार्यशालामा कास्की, लमजुङ, गोरखा, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा सिर्जनारत स्थापित कलाकारहरूको क्षेत्रीय कला कार्यशाला २०७२ मा सहभागीता रहेको थियो ।

उक्त कला कार्यशालालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख प्राज्ञ रमेश श्रेष्ठ, राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राई, जेके कला संग्रहालयका अध्यक्ष अशोक पालिखे, वरिष्ठ कलाकार द्वय यादवचन्द्र भुर्तेल र गोपाल श्रेष्ठले संयुक्तरुपमा क्यानभासमा चित्र बनाई उद्घाटन गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईले आफु संगितकार भए पनि रङहरूको लय सारै मन पर्ने बताए । चित्रकला विभाग प्रमुख प्राज्ञ रमेश श्रेष्ठले नेपाली कलाको विकासकालागि मोफसलमा कृयाशिल कलाकार सम्मेलित पूर्वको इलाम र मध्यको चितवनमा कला कार्यशालाको आयोजना हुने बताएका थिए । कार्यशालामा तयार भएका चित्रकृति बुधवार देखि पोखरा आर्ट ग्यालरीमा एक हप्ता सम्म प्रदर्शनीमा राखिने छ । उक्त चित्र काठमाण्डौमा पनि प्रदर्शन गरिने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईलाई पोखरेलीहरूका तर्फबाट सम्मान पनि गरिएको थियो । सिर्जनशिल कलाकार समूहका अध्यक्ष विश्वराज पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्राज्ञ सभासद नगेनसिंहले स्वागत गरेका थिए । समूहका सचिव सूर्य वराइलीले कार्यक्रम संचालन गरेका थिए ।

कार्यशालामा यादवचन्द्र भुर्तेल, गोपाल श्रेष्ठ, रमेश श्रेष्ठ, आलोक गुरुङ, छेत्रलाल कायस्थ, एलपी गुरुङ, बुद्धि गुरुङ, गणेश जीसी, विश्वराज पराजुली, सूर्य वराइली, मनोज तामाङ, संजय गुरुङ, दिपेन गुरुङ,नगेनसिंह, विश्वम्भवर वस्नेत, किरण गुरुङ, निशा पुन, गोपाल दराई, ज्योती गुरुङ, जगत पुन, विश्व केसी, युवराज लामिछाने लगायतका कलाकारको सहभागीता रहेको थिए ।

कमेन्टहरु
Loading...