सराङकोट गुरुयोजना निर्माण शुभारम्भ

पोखरा, ४ साउन/सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको संयोजनमा निर्माण शुरु गरिएको वृहत योजनाको शुभारम्भ भएको छ । वृहत गुरुयोजना निर्माणका लागि माघ २२ देखि फागुन १ गतेसम्म सम्पन्न विराट ज्ञान महायज्ञबाट संकलित करिब १३ करोडबाट प्रस्तावित योजना पहिलो चरण विशाल विशाल शिव मन्दिरसँगै पार्क, कार्यालय, आवास गृहको शुरुवात गरिएको छ ।

सो शुरुवात गर्दै राष्ट्रिय परोपकार महासंघ केन्द्रीय अध्यक्ष भागवत भाष्कर पण्डित कमलनयन गौतमले नेपालको इतिहाससँगै सराङकोट जोडिदै धार्मिक ऐतिहासिक महत्व रहेकोमा गुरुयोजना अन्तर्गत हुने विकास निर्माणले आम नेपालीले गौर बोक्ने सराङ्कोट बन्ने बताए । निर्माण कार्यमा पार्टीगत स्वार्थ त्यागी नियम परिधिभित्र रही सबै एक हुनुपर्ने धारणा राखे ।

सराङ्कोट धार्मिक, पर्यटन क्षेत्रको प्रमुख गन्तव्य स्थलको रुपमा विकास गर्न प्रस्तावित गुरुयोजनाले महत्वपूर्ण भूमिका खेल्ने समितिका अध्यक्ष प्रेम बहादुर जिसीले बताए । करिब १०० रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिन लागिएको योजना अन्तर्गत विशाल घण्ट, १०८ सहज्रधारा, देवदेवीका मन्दिर, विशाल बौद्ध मन्दिर, भ्यूटावर, बालउद्यान, पार्क, वनभोज स्थल रहेको सचिव दिल बहादुर जिसीले बताए ।

पहिलो चरणमा पोखरा महानगरपालिकाको सहयोगमा १ करोडको निर्माण शुरुवात गरिएको कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाले बताए । शिलान्यास कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले विकास निर्माणमा सबैले साझा विचार राखी वडालाई सहयोग गरेमा आफ्नो कार्यकाल गुरुयोजनाको पूर्णतासँगै नमूना वडा बनाउन सक्ने बताए ।

निर्माण कार्यको शुरुवातसँगै आर्थिक संकलन भैरहेको सहयोग गर्ने दाता थपिदै आएका छन् । सोही अनुसार राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य राजेश गुरुङले ५१ हजार १ सय २५ सहयोग गरेका छन् ।

समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष उमानाथ चपाई, अनुगमन समितिका संयोजक पुष्कल थापा, उपाध्यक्ष मिन बहादुर थापा, महासचिव शम्शेर बहादुर थापा, वडा सदस्य ज्ञान बहादुर थापा लगायतले निर्माण कार्यमा सबैको साथ, सहयोग रहनुपर्ने बताए । पहिलो चरणको निर्माण शुरुवातसँगै मुख्य मन्दिरको पूर्णता, बाटो व्यवस्थापन, बौद्ध मन्दिर निर्माण कार्यलाई अगाडि बढाइएको छ ।

कमेन्टहरु
Loading...