पोखरामा रहेका निजामती तथा सुरक्षा निकायका प्रमुखहरुको सम्मान र स्वागत

पोखरा, २२ चैत । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा मंगलबार पोखरामा रहेका निजामती तथा सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।
पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परीषद,पश्चिमाञ्चल होटल संघ, नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाटा ) पश्चिमाञ्चल च्याप्टर, टे«किङ एजेन्ट्स एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टर पोखरा र  रेष्टुरेष्ट एण्ड बार एसोसियसन ( रेवान) पोखरासहितका ६ वटा संस्थाले संयुक्तरुपमा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेल,पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनी, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका क्षेत्रीय निर्देशक प्रहरी नायव महानिरीक्षक रवीन्द्र पंडित र अञ्चल प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतमलाई सम्मान र स्वागत गरिएको हो ।
सम्मान कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरामा हालै जडान भएको सौयबत्ती, पोखरा खानेपानी शुद्धिकरण अभियान सार्वजनिक निजी साझेदारीको नमूना भएको बताउँदै यस्तो सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आसन्न स्थानीय निर्वाचन सफल पार्न सम्पूर्ण उद्योगी व्यवसायीहरुबाट सकारात्मक सहयोग रहने बताउनुभयो ।  नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राज्य पुनर्संरचना आयोगले नया महानगरपालिकाको नाम नै पोखरा–लेखनाथ राखेर दीर्घकालीन झमेला निकाल्न खोजेको गुनासो गर्नुभयो । पोखरालाई अपराधमुक्त सहर बनाउँदै ट्राफिक व्यवस्थापनमा ध्यान दिन उहाँले सरोकारवाला निकायहरुसँग आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले पोखरा लेखनाथको नाम परिवर्तन गर्ने अधिकार अब निर्वाचित हुने जनप्रतिनिधीको हातमा रहने हुँदा यसमा आफूले केही गर्न नसक्ने स्पष्ट पार्नुभयो । संक्रमणकालका कारण महानगरले सोचेजस्तो सेवा प्रवाह गर्न नसकेको स्वीकार्दै उहाँले फोहरमैला व्यवस्थापन,ट्राफिक समस्या समाधान तथा जग्गाको खण्डिकरण रोक्ने दिशामा प्रभावकारी कदम चाल्ने आवश्वासन दिनुभयो । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक ( डिआइजी) मधुप्रसाद पुडासैनीले आसन्न स्थानीय निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गराउने दायित्व प्रहरीको लागि अवसर भएको बताउनुभयो ।
लागु औषध, आत्महत्या तथा सडक दुर्घटना पश्चिमाञ्चलका जल्दाबल्दा समस्या भएको उल्लेख गर्दै उहाँले आपराधिक गतिविधी नियन्त्रणमा प्रहरी सफल भएको जिकिर गर्नुभयो । बर्दी लगाएको प्रहरीले सेवावापत नागरिकबाट थप फाइदा लिन नपाउने प्रष्ट पार्दै उहाँले भन्नुभयो,‘प्रहरीबाट कहिँकतै त्यस्तो भएको छ, भने खवर पाउँ,प्रहरीलाई राज्यले तलव र रासन दिएको छ, थप केही मागेमा कारवाही हुन्छ ।’ उहाँले पोखरा महानगरपालिकाको जुनसुकै क्षेत्रमा पनि घटनापछिको ५ मिनेट भित्र प्रहरी पुग्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी कार्यालय पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवोध अधिकारीले सम्वृद्ध पोखराको लागि निजी क्षेत्रले देखाएको सहकार्य नमूना भएको उल्लेख गर्दै सहकार्यको हात मिलाउन सशस्त्र प्रहरी तयार रहेको बताउनुभयो ।
राष्ट्रिय अनुसन्धान कार्यालय पोखराका क्षेत्रीय निर्देशक प्रहरी नायव महानिरीक्षक रवीन्द्र पंडितले राष्ट्रिय र  आन्तरिक सुरक्षाको बारेमा काम गर्ने अनुसन्धान कार्यालयले अन्ततः नागरिककै सुरक्षाको लागि काम गर्ने प्रष्ट पार्नुभयो । अञ्चल प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरि गौतमले विकृति नियन्त्रणको लागि प्रहरी प्रशासन सदैव तयार रहेको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन तथा पोखरा पर्यटन परीषदका अध्यक्ष केदारनाथ भट्टराईको धन्यवाद रहेको कार्यक्रममा पश्चिमाञ्चल होटल संघका अध्यक्ष  विकल तुलाचन,नाट्टाका पश्चिमाञ्चलका अध्यक्ष डिल्लीप्रसाद गौतम, रेवानका अध्यक्ष चौबहादुर गुरुङ र टान पश्चिमाञ्चलका कार्यवाहक अध्यक्ष हरि भुजेलले पनि मन्तव्य राख्नुभएको थियो ।
कमेन्टहरु
Loading...