पोखरा घोषणा पत्र जारी गर्दै रोटरी सम्मेलन सम्पन्न

पोखरा, २६ माघ/ पोखरा घोषणा पत्र जारी गर्दै पोखरामा जारी रोटरी सम्मेलन आइतबार सम्पन्न भएको छ । किड्नी केयर सेन्टर र क्याथ ल्यावमा लगानी बढाउने घोषणा गर्दै पोखरामा जारी रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलन आइतबार सम्पन्न भएको हो ।

मिर्गौलाका बिरामीहरुको डायलाइसिस गर्न किड्नी केयर सेन्टर र मुटु रोगीको उपचारका लागि क्याथ ल्याव स्थापनाका लागि लगानी बढाउने घोषणा गर्दै पोखरामा जारी रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट सम्मेलन आइतबार सम्पन्न भएको हो ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न रोटरी सम्मेलनले खानेपानी, शिक्षा र स्वास्थ्यका लागिपनि लगानीको दायरा बढाउने प्रतिबद्धता जनाएको छ । साथै उसले मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र उत्तम सञ्जेलले सञ्चालन गर्दै आएको समता स्कुलका लागि सहयोग गर्ने घोषणापनि गरेको छ । रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ ले गोर्खामा सञ्चालन गर्न लागेको समता स्कुलका लागि सहयोग गर्ने क्लवका डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए ।

रोटरी ईन्टरनेसनलले विश्व स्वास्थ्य संगठनसँग मिलेर पोलियो उन्मुलनका लागि थप प्रभावकारी कदम चाल्नेपनि जनाएको छ । उसले अफ्गानिस्तान र पाकिस्तानलगायतका केहि देशमा छिटपुट पोलियो रोगको समस्या देखिएको भन्दै त्यस्ता देशहरुमा पोलियो उन्मुलनका लागि चाँडै थप प्रभावकारी योजनासहित कार्यक्रम लिएर जाने प्रतिबद्धता घोषणा गरेको छ ।

रोटरी ईन्टरनेसनले साक्षरता अभियान अन्तर्गत निरक्षरता अन्त्यको अभिभारा लिइसकेको जनाएको छ । त्यसका लागि रोटरीले थप लगानीसहित कार्यक्रम घोषणा गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए ।

सम्मेलनले रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १३ औं डिष्ट्रिक्ट सम्मेलन चितवनको सौराहामा गर्ने निर्णय गरेको छ । सम्मेलन आगामी सन् २०२१ फेव्रअरी २४, २५ र २६ गते गर्ने निर्णय गरेको सचिव डिल्लीप्रसाद शर्माले जानकारी दिए ।

यसैबीच, सामुदायका मानिसहरुको अािर्थक विकास, खानेपानी, सरसफाई, शिक्षा र साक्षरता अभियानमा रोटरी क्लव अफ धुलिखेल, आर्थिक तथा सामुदायिक विकासका लागि सामाजिक काममा रोटरी क्लव अफ हेटौंडा र सार्वजनिक र सामुदायिक सेवाको क्षेत्रमा रोटरी क्लव अफ रत्ननगर चितवन सर्वोत्कृष्ट घोषित भएको सचिव शर्माले जानकारी दिए । यसैगरी, रोटा क्वीजमा रोटरी क्लव अफ पाटन प्रथम, रोटरी क्लव अफ राजधानी फष्र्ट रनरअप र रोटरी क्लव अफ काठमाडौं नर्थ सेकेण्ड रनरअप हुन सफल भएको उनले बताए ।

त्यस्तै, सर्वाधिक उपस्थिति जनाउने क्लवमा रोटरी क्लव अफ रत्ननगर चितवन सर्वोत्कृष्ट हुन सफल भएको छ । क्लवका ४७ जना सदस्य सहभागि भइ रत्ननगर सर्वोत्कृष्ट हुन सफल भएको सचिव शर्माले जानकारी दिए ।

सम्मेलनको गत शुक्रबार रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गरेका थिए । सम्मेलनमा करीब २ हजार रोटरीयनहरु सहभागि भएको आयोजकले जनाएको छ । नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा रहेको एउटा रोटरी क्लवका सदस्यहरु सम्मेलनमा सहभागि भएका थिए । सम्मेलनमा रोटरियनबाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरुपनि सहभागि भएका थिए ।

कमेन्टहरु
Loading...