रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनको तयारी तिव्र

पोखरा, १९ माघ / पोखरामा माघको चौथो साता हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनको तयारी तिव्र पारिएको छ । माघ २४, २५ र २६ गते पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनको तयारी तिव्र पारिएको कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए । कन्भेन्सनका लागि कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्र नयाबजारमै सम्पर्क कार्यालयसमेत स्थापना गरिएको उनले बताए ।

कन्भेन्सनका लागि मुख्य कार्यक्रम हुने स्थानमा टेन्ट हालेर ३ हजार मानिस अटाउने क्षमताको कन्फिरेन्स हल बनाइएको छ । डोममा भने देशका सबै रोटरी क्लवहरुले गरेका कामहरुको प्रदर्शनी गर्ने ब्यबस्था मिलाइएको छ । कार्यक्रम स्थल अगाडिको भागमा आकर्षक मूल द्वार निर्माण गर्नुका साथै कार्यक्रम स्थलमा साउन्ड सिस्टमदेखि लाइटकोसमेत प्रबन्ध गरिएको छ भने सुरक्षा ब्यबस्थापनि चुस्त बनाउने तयारी गरिएको संयोजक धोजुले बताए ।

कन्भेन्सनका लागि अग्रिम नाम दर्ता गर्ने क्रम शुरु भएको कार्यक्रमका सेक्रेटरी डिल्लीप्रसाद शर्माले बताए । हामीले नाम दर्ता गर्न शुरु गरेका छौं,‘कन्भेन्सनमा सहभागि हुन चाहनुहुनेहरुले फोन, इमेल र फेसबुक म्यासेन्जरबाटसमेत नाम दर्ता गराइरहनु भएको छ ।’

कन्भेन्सनमा करीब ३ हजार रोटरीयनहरु सहभागि हुने जनाइएको छ । कन्भेन्सनमा रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ मा आबद्ध १२७ क्लवका नेपालसहित भुटानका रोटरीयनहरु पोखरा आउने कार्यक्रम संयोजक गोपाल धोजुले बताए । उनका अनुसार भुटानीहरुसमेत नेपालकै क्लवमा आबद्ध भएकाले उनीहरुपनि कन्भेन्सनमा सहभागि हुन पोखरा आउनेछन् ।

कन्भेन्सनमा रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहतासहित विश्वका उच्च तहका रोटरियनहरु आउने उनले बताए । डिष्ट्रिक्टमा आबद्ध क्लव तथा रोटरियनबाहेक अमेरिका, जापान, कोरियालगायतका देशका रोटरियनहरुपनि कन्भेन्सनमा सहभागि हुने संयोजक धोजुले बताए ।

रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसन दोश्रोपटक पोखरामा हुन लागेको हो । यसअघी सन २०१४ मा पनि पोखरामै डिष्ट्रिक्ट कन्भेन्सन भएको थियो ।

कन्भेन्सनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्भेसनका सेक्रेटरी रोटरियन डिल्लीप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कन्भेन्सनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् ।

कमेन्टहरु
Loading...