आफू जलेर अरुलाई उज्यालो दिनेहरु रेडक्रसमा लाग्छन्ः पहारी

पोखरा, २५ पुस / गण्डकी प्रदेश सांसद राजिव पहारीले रेडक्रस निश्वार्थ भावले सामाजिक सेवा गर्ने संस्था भएको बताएका छन् । शुक्रबारदेखि शुरु भएको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेश स्तरिय जुनियर तथा युवा रेडक्रस शिविरको उद्घाटन गर्दै उनले म सेवा गर्छु भनेर निश्वार्थ सेवामा लाग्ने संस्था भनेको रेडक्रस भएको बताएका हुन् ।

सबैभन्दा ठूलो सेवा भनेको मानवता हो,‘उनले भने,‘निश्वार्थ भावनाले सामाजिक सेवा गर्छु भन्ने कुनै संस्था संचारमा छ भने त्यो नेपाल रेडक्रस सोसाइटी हो ।’ सांसद पहारीले अरुको सेवा गर्ने मान्छे कहिल्यै नमर्ने बताए । उनले भने,‘जो अरुको लागि काम गर्छ, दीन दुःखीको सेवा गर्छ, सहयोग गर्छ, अर्थात समाजसेवा गर्छ, त्यो मान्छे मरेपछि पनि बाँच्छ किनकि उसलाई सयौं वर्षसम्मपनि मान्छेहरुले सम्झिरहेको हुन्छ ।’

महाभुकम्पमा होस् वा दैविक विपत्तिमा रेडक्रसले रातदिन खटेर उद्धार र सेवा गरेको भन्दै उनले रेडक्रसको प्रशंसा गरे । उनले रेडक्रसमा लाग्नेहरु मैनवत्तिजस्तो हुने बताउँदै थपे,‘जो आफू जलेर अरुलाई उज्यालो बनाउँछन् ।’

युवालाई प्रशिक्षण दिएर उद्धार र सेवामा दत्तचित्त बनाउनका लागि आयोजित २ दिने शिविर शनिबारसम्म जारी रहने शिविरको ब्यबस्थापन गरिरहेको हेमजा युवा रेडक्रस सोसाइटीकी सभापति पुनम गिरीले जानकारी दिइन् । नेपाल रेडक्रस सोसाइटीको आयोजना, जिल्ला शाखा कास्की र गण्डकी प्रदेशको समन्वयमा आयोजित शिविरमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका युवा रेडक्रस सर्कलका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कमेन्टहरु
Loading...