न्यौपानेको विवाहको २५ औं वर्षगाँठ वृद्धाश्रममा

पोखरा, ३१ वैशाख /चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने तथा भगवती न्यौपानेले विवाहको २५ औं वर्षगाँठ पोखरा–१४ स्थित वात्स्यायन वृद्धाश्रमका वृद्धवृद्धाहरुसँग मनाएका छन् ।

वैवाहिक जीवनको २५ वर्ष प्रवेशको अवसरमा सोमबार साँझ न्यौपाने दम्पतिले वृद्धाश्रमका वृद्ध बुबाआमाहरुसँग आशीर्वाद लिँदैसँगै खाना खाए । उनीहरुले वृद्धाश्रममा रहेका २० जना वृद्धवृद्धाहरुलाई खानाको प्रबन्ध गरेका थिए ।

सो अवसरमा उपस्थित कलाकार, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी तथा लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनका सदस्य लगायतले न्यौपाने दम्पतिलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ नेपालका निर्वतमान डिस्ट्रिक्ट गभर्नर धनराज आचार्यले प्रेरणादायी जोडीको रुपमा रहेको न्यौपाने दम्पतीको आगामी दिनमा पनि सफलताको कामना गर्दै न्यौपानेको कलाकारिताले अझ बढी फड्को मार्न सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष देवकृष्ण काफ्लेको अध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, लोक दोहोरी गायक जीवन दाहाल, रमेश विजी, वृद्धाश्रमका उपाध्यक्ष रेशम जिसी, पोखरा महानगरपालिका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, वरिष्ठ कानुन अधिकृत नारायण शर्माले शुभकामना व्यक्त गरेका थिए । स्याङ्जाको बेलटारीमा जन्मेका न्यौपाने पोखरालाई कर्मथलो बनाएर कलाकारितामा सक्रिय छन् । उनले गीत गाएर वृद्धवृद्धालाई मनोरञ्जन समेत गराएका थिए ।

कमेन्टहरु
Loading...