घर र जग्गाको भाडामा परिस्थिति अनुकुलको सहुलियत प्रदान गर्न पर्यटन परिषद्को आग्रह

पोखरा, ९ वैशाख/ पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रमा रहेका समस्याका बारेमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मार्मिला तथा योजना मन्त्री किरण गुरुङ, वन, उद्योग तथा पर्यटनमन्त्री विकास लम्साल, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी लगाएतलाई ज्ञापनपत्र बुझाउदै अवगत गएका छन् ।

उनीहरुले पर्यटन क्षेत्रलाई तत्कालै सञ्चालनमा ल्याउन कठिनाई रहेको, व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता तिर्न कठिन भएको, बैंकको व्याजमा घटाउनु पर्ने लगाएतका मागलाई बजेटमा समाबेश गर्न माग गरेका छन् ।

पर्यटन व्यवसाय विश्व स्वास्थ्य संगठन र विश्व पर्यटन संगठनबाट सहज आवतजावत गर्न सक्ने वातावरण भएको स्पष्ट घोषणा भई कुनै पनि व्यक्ति ढुक्कसँग आवातजावत गर्न सहज र विश्वासिलो वातावरण नभएसम्म यसको पुनःउत्थान गर्न सकिने अवस्था नभएको पोखरा पर्यटन परिषद्का उपाध्याक्ष गोपी भट्टराईले बताए । उनले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै परिषद्ले पर्यटन व्यवसायलाई पुनर्जिवन दिनका लागि तीनै तहका सरकारलाई बजेटमा समाबेस गर्नु पर्ने सुझावहरु दिएको बताए ।

त्यसै गरि पोखरा पर्यटन परिषद्ले पर्यटन व्यवसायको संरक्षण गर्दै सम्बन्धित व्यवसायीलाई पलायन हुनबाट जोगाउन घर र जग्गा भाडामा परिस्थिति अनुकुलको सहुलियत प्रदान गर्न घरधनीलाई अनुरोध गरेको छ । कोरोना भाइरसबाट सिर्जित विषम परिस्थितिमा घरधनी र व्यवसायीहरुविच सौहार्दपूर्ण, मानवीय, व्यवहारिक र बैज्ञानिक ढंगबाट आपसी सहमति कायम गरी अगाडि बढ्न आग्रह गरेको हो ।

पर्यटन व्यवसायी पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकारात्मक प्रभाव पर्ने भन्दै परिषद्ले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ती भाडामा लगाउने घर धनी र व्यवसायी दुबै पक्षले एक अर्काको मर्का बुझी अगाडि बढ्नुपर्ने विज्ञप्ती जारी गर्दै जनाएको छ । व्यवसायको निरन्तरता हुने अवस्था सिर्जनाका लागि दुई पक्ष संयमता एवं जिम्मेवारी बोधका साथ अगाडि बढ्नुपर्ने पनि परिषद्ले जनाएको छ ।

विगतमा भुकम्प लगायतका संकटको घडीमा घर धनी र व्यवसायी विच आपसी समझदारीमा घरभाडा सहुलियत प्रदान भए झै आगामी दिनहरुमा पनि पर्यटन व्यवसायलाई पुनर्जिवन दिई दिगो रुपमै संचालन गर्न गराउनका लागि पर्यटन व्यवसाय संचालन भएका स्थानहरुका घरधनी र व्यवसायी विचको सम्बन्ध अझ गाढा र सुमधुर हुनुपर्ने देखिन्छ, विज्ञप्तिमा भनिएको छ ।

कमेन्टहरु
Loading...