क्रस दी बोर्डरको अर्को शृंखला, पञ्चकन्या प्रदीपकुमार श्रेष्ठ पोखरा आउने

पोखरा, १५ असार/उद्यमशीलता जगाउने उद्देश्य राखेर होटल स्नोल्यान्डले सुरु गरेको ‘उद्यमशील कार्यक्रम ’को अर्को शृंखला असार १६ गते हुने भएको छ । उद्यमशील बनौं भन्ने मर्मसहित ‘क्रस दी बोर्डर’ नामको संवादमूलक कार्यक्रम साँझ ४ बजे लेकसाइडको बाराहीचोकस्थित होटल स्नोल्यान्डकै हलमा हुनेछ ।

‘संघर्षले रोलमोडल बनेका उद्यमीको सफलताको कथा र उत्प्रेरणादायी मन्तव्य कार्यक्रमको मुख्य विशेषता हो,’ होटलका अध्यक्ष गणेशबहादुर थापाले भने, ‘उद्यमशील बन्न इच्छुक युवालाई जमघट गराई प्रेरणा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हुनेछ ।’ कार्यक्रमको यो शृंखलामा पञ्चकन्या गु्रपका प्रबनध निर्देशक प्रदीपकुमार श्रेष्ठलाई निम्त्याएको थापाले बताए । श्रेष्ठ उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् ।

साफ चेम्बरका उपाध्यक्ष समेत रहेका श्रेष्ठ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारमा उनले दिएको प्रेरणादायी अभिव्यक्तिबाट युवा व्यवसायी प्रभावित हुने गरेका छन् । पोखरामा हुने उक्त कार्यक्रमबाट युवा, विद्यार्थी, व्यवसायी र नवउद्यमीहरु लाभाम्वित हुने आशा गरिएको थापाले बताए । श्रेष्ठसँग असार १६ गते बिहीबार साँझ ४ बजे संवादमूलक कार्यक्रम हुनेछ । प्रवेश निशुल्क रहने कार्यक्रममा सहभागिताका लागि होटलले आग्रह गरेको छ ।

स्वदेशमा उद्योगधन्दा र रोजगारीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि अन्योलमा रुमलिएको युवाशक्तिलाई स्वरोजगार वा उद्योगी बन्ने बाटो देखाई देशको अर्थतन्त्रलाई थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यबाट यस्तो कार्यक्रम श्रृंखला सुरु गरेको थापाले बताए ।‘सफल उद्यमीले पार गरेका अप्ठेरा गौंडागल्छेडाहरुको अनुभव सुनाई युवापुस्तालाई जोखिम लिनसक्ने र एकाध असफलताबाट निराश नबन्ने प्रेरणा दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘म आफैं पनि नयाँ व्यवसायी हुँ, मैले मात्रै गरेर हुँदैन म जस्ता युवा व्यावसायिक फिल्डमा आउनुपर्छ भन्ने लागेर कार्यक्रमको अवधारणा ल्याएँ ।’ उनले सफल उद्यमीहरुमध्ये धेरैजना पारिवारिक विरासतका भरमा शिखरमा पुगेको भन्ने भ्रम युवाहरुबाट हटाउनुपर्ने खाँचो पनि औंल्याए ।

‘हामी धेरैजसोलाई के लाग्छ भने पारिवारिक लिगेसी वा भाग्यविधाताको भरमा सफलता मिल्छ,’ उनले भने, ‘तर, त्यसो होइन, जस्तै कठिन परिस्थितिमा रहेर पनि सफल उद्यमी बन्न सकिन्छ भन्ने प्रमाणहरु प्रशस्त छन् । हाम्रो कार्यक्रममा ती सजीव प्रमाणहरुसँग साक्षात्कार गर्न पाइनेछ ।’ सामाजिक उत्तरदायित्वका लागि भनेर दान र मानमा अल्झनुभन्दा उद्यमी जन्माउन प्रयत्न गर्नु उचित लागेर यस्तो कार्यक्रम गर्न लागेको उनले प्रष्ट्याए ।

कमेन्टहरु
Loading...