औषधि व्यवासायी संघ कास्कीद्धारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पोखरा, १६ चैत / कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई कोरोना रोकथामको लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

शनिबार संघका अध्यक्ष विक्रम पन्तको नेतृत्वमा संघका केही पदाधिकारी प्रहरी कार्यालय पुगेर उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । पन्तले विभिन्न क्षेत्रमा सुरक्षा प्रदान गर्न खटिरहने प्रहरीमा झन् ठुलो संक्रमणको जोखिम रहने भन्दै संघले सुरक्षा सामाग्री हस्तान्तरण गरेको बताउनुभयो ।

उहाँले सुरक्षाकर्मीलाई आवश्यक पर्ने ग्लोब्स्, मास्क, ह्याण्डस्यानिटाइजर बनाउन प्रयोग हुने ग्लिसिरिन, स्पिरिट, लगायतको सामाग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।

संघका केन्द्रिय सदस्य टंक अधिकारीले विशेष स्वास्थ्य क्षेत्रसँग आवद्ध व्यवसायीहरुले यतिबेला व्यवसायिकता भन्दा माथि उठेर सामाजिक दायित्व पुरा गर्नुपर्नेे बताउनुभयो । अहिलेको विषम परिस्थितीमा दिनरात नभनी सुरक्षामा खटिने सुरक्षाकर्मीलाई संक्रमणको जोखिमबाट जोगाउन यी सामग्रीले सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी संघका गण्डकी अध्यक्ष रामबहादुर केसीले जिल्ला शाखाले अहिलेको अवस्थालाई मध्येनजर गर्दै सहयोगमा जुट्नु सकारात्मक भएको बताउनुभयो । उहाँले अहिले औषधी व्यवसायी समेत संक्रमणको जोखिममा रहेको भन्दै सतर्कता अपनाएर सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

संघका महासचिव पूर्ण बस्नेत काजीले उक्त सामाग्रीहरु एभरेष्ट सर्जिकल एण्ड ल्याव ट्रेड कन्र्सन, रुषा फर्मा इन्टरप्राइजेज प्रा.लि, सृजना मेडिसिन सप्लार्यस, चिराग फार्मेसी, अन्नपूर्ण मेडिको फर्मा, फर्मा केयर औषधि पसलले सहयोग गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले सुरक्षाकर्मीको जिम्मेवारी र संवेदनशीतालाई बुझेर संक्रमणबाट जोगिने सामाग्रि उपलब्ध गराउनु भएकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले असहज अवस्थामा सबैले आआफ्नो दायित्व र भूमिकालाई बहन गरेर लकडाउनको पूर्ण पालन गर्न सके कोरोनाको संक्रमणबाट जोगिन सक्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...