पोखरामा ढल सहितको पक्कि सडक निर्माण

पोखरा, १४ असार /पोखरा लेखनाथ महानगरपालिकाका वडा नं. १७ स्थित मुनाल मार्गमा ७० लाख ८१ हजार २५५ रुपैयाको लागतमा पक्कि सडक सहित ढल निर्माण कार्य सम्पन्न भएकोछ । हिमालय आँखा अस्पताल घारीपाटनको मुख्य प्रवेशद्धारदेखि एसओएस हर्मन माईन विद्यालयसम्मको चार सय ५५ मिटर लम्वाई र छ मिटर चौढाईको कालोपत्रे सडक सहित छसय ५५ मिटर ढल निर्माण गरिएको हो ।

महानगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपैया र २१ लाख २४ हजार ४०० रुपैया स्थानीय जनसहभागिता परिचालन गरि निर्माण सम्पन्न गरिएको बाटो उपभोक्ता समितिका कोषाध्यक्ष गोमा श्रेष्ठले जानकारी दिनुभयो । बाटो र ढल निर्माणका लागि एसओएसबाट पाँच लाख रुपैया, अन्तराष्ट्रिय पर्वतीय संग्रहालयबाट दुई लाख ५० हजार र हिमालयन आँखा अस्पतालबाट दुई लाख आर्थिक सहयोग प्राप्त भएको बताउँदै उहाँले सो क्षेत्रमा बर्षाको भल पानीको समेत दिर्घकालीन निकासको व्यवस्था भएको बताउनुभयो ।

पोखरा लेखनाथ महानगर पालिका वडा नं. १७ का अध्यक्ष तिर्थ अधिकारीले सो निर्माण सम्पन्न गरिएको ढल सहितको पक्कि बाटो आज आयोजित एक समारोहका बीच उद्घाटन गर्दै विकास निर्माण कार्य एकद्धार प्रणालीबाट गरिनु पर्नेमा जोड दिनुभयो । तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न उपभोक्ता समिति लाग्नु पर्ने उल्लेख गर्दै उहाँले वडास्तरबाट सडक र खानेपानीलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो ।

महानगर कार्यपालिका सदस्य राधिका योगी र समाजसेवी तोयनाथ लम्सालले स्थानीयको सकृयतामा हुने कुनै विकास निर्माण कार्य समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । मुनालमार्ग उपभोक्ता समितिका अध्यक्ष रघुनाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता समितिका सदस्य उदय बहादुर केसीले स्वागत र सचिव चन्द्रमाया गुरुङले सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...