पोखरामा २८ जना क्वारेन्टाईनमा

पोखरा, १३ चैत/ विश्वव्यापी महामारी फैलिएको कोरोना भाईरस(कोभिड–१९)को रोकथाम र न्युनिकरणको लागि पोखरा र आसपासमा क्वारेन्टाईन बनाइएको छ । सर्वसाधारण लकडाउनसँगै होम(घर) मै क्वारेन्टाईनमा बसेका छन् । रोजगारीको लागि विभिन्न देशबाट फर्किएको नेपालीलाई क्वारेन्टाईनमा राख्दै स्वास्थ्य परीक्षण गरिएको छ ।

कास्की जिल्लामा पनि २८ जना क्वारेन्टाईनमा छन् । पोखरा महानगरपालिकाको कृषि तालिम केन्द्र मालेपाटनमा १६ जना राखिएको छ । कास्कीकै रुपा गाँउपालिकामा १२ जना क्वारेन्टाईनमा छन् । क्वारेन्टनाईमा राखिएका अधिकांश भारत लगायत तेस्रो मुलुकमा रोजगारीबाट फर्किएका हुन् ।
रुपा गाउँपालिकामा २० जना क्षमताको क्वारेन्टाईन बनाईएको छ । क्वारेन्टाईनमा १३ जना थिए ।

एकजनाको भने बुधबार निधन भएको थियो । ५० वर्षिय विश्वबन्धु सार्कीको मृत्यु भएपछि सर्वसाधारणमा त्रास फैलिएको छ । उनको उपचारको लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्यु भएको थियो । प्रतिष्ठानका ल्याब प्राविधिक शंकर भण्डारीका अनुसार सार्कीको नमूना(स्वाब) परीक्षण गर्न काठमाडौं पठाईएको छ ।

मेडिकल हिष्ट्री अनुसार उनी मुटु रोगी रहेका स्वास्थ्यकर्मीले जनाए । पोखरामा स्थापित फिभर क्लिनिक(ज्वरो जाँच्ने) स्थापना गरिएको छ । आंशका लागेका सर्वसाधारणले ज्वरो नाप्ने गरेका छन् । ज्वरो देखिएको विरामीलाई होम क्वारेन्टाईनमा बस्न सुझाव दिइएको छ । होम क्वारेन्टाईनमा बस्न नसक्नेलाई अस्पतालमै बस्न सुझाव दिइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

दुईदिन अघि मात्रै भारतको पुर्व नाका काकडभिट्टाबाट भित्रिएका १६ जनालाई पोखरा–५ मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाईनमा राखिएको छ । ‘राती आएका १६ जनालाई कृषि तालिम केन्द्रको क्वारेन्टनाईनमा राखिएको छ ।’ प्रदेश एकिकृत चिकित्सा महाशाखाका प्रमुख रामबहादुर केसीले भने–‘उनीहरुको स्वाब टेष्टको लागि काठमाडौं पठाईको छ ।’ तीन दिनपछि आउने रिपोर्ट हेरेर १४ दिनपछि घर फर्काईने उनले बताए ।

महाशाखा प्रमुख केसीका अनुसार पोखरा र कास्कीका गाँउपालिकामा स्थानीयस्तरबाटै क्वारेन्टाईन बनाइएको छ । क्वारेन्टाईन कति क्षमताको छ यकिन विवरण भने प्रदेश समक्ष आईनसकेको उनले सुनाए । महानगरपालिका भित्रै कति ठाँउमा क्वारेन्टाईन भए गरेको बारेमा समेत यकिन जानकारी नभएको उनको भनाई थियो । प्रदेशका अन्य जिल्लामा पनि क्वारेन्टाईन भएपनि यकिन तथ्यांक आईनसकेको उनले बताए ।

कमेन्टहरु
Loading...