पोखरा, १९ असार /पोखरामा प्रदेश नम्बर १ का पर्यटकीय स्थलका फोटो प्रदर्शनी गरिएको छ । पूर्वाञ्चल सेवा समाजको आयोजनामा पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्राहालयमा फोटो फोटो पत्रकार भरतबन्धु थापाले दश वर्ष अघि देखि खिचेका प्रदेश नम्बर १ का पर्यटकीय स्थलको २९ वटा फोटो प्रदर्शनी गरिएको हो ।
फोटो प्रदर्शनीमा विश्वको सवोच्च शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कञ्चनजंगा, माकालु हिमाल लगायतका २९ तस्बिर पनि प्रदर्शनीमा राखिएको थियो । धार्मिक तिर्थस्थल पाथीभारा, इलामको चिया बयान, हिन्दु, बौद्ध र किराँतहरुको धार्मिक स्थल हलेसी, प्रदेश नम्बर १ को कला र संस्कृति झल्कने, जनजिवन झल्कने फोटो पनि प्रदर्शनीमा थिए ।
प्रदेश नम्बर १ वर्पटकीय स्थलको फोटो प्रदर्शनी तथा अन्तर क्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले पर्यटन विकास र प्रवद्धनकालागि प्रदेश बिच सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । प्राकृतिक बिबिधताले विश्वमै धनी भएर पनि त्यसको सहि सदुपयोग गर्न नसक्दा देश पछि परेको भन्दै गण्डकी प्रदेशका सांसद गुरुङले प्राकृतिक स्रोत र साधनको सहि रुपमा सदुपयोग गर्नु पर्ने बताए ।
आयोजक संस्था पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डिकबहादुर राईले दुई प्रदेश बिच सहकार्य गरेर पर्यटन विकासकालागि अघि बढ्न सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले उच्च हिमालहरु रहेका दुई प्रदेश बिच सहकार्य गरेर पर्यटन विकासकालागि अघि बढ्नु पनुै सुनाए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रबन्धक सूर्य थपलीयाले गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले उच्च हिमालय क्षेत्रको पदयात्रा र हिमाल आरोहणका लागि पर्यटक आकर्षण गर्न अन्तर्राष्ट्रिय स्तरमा प्रवद्धन गरि पर्यटन विकासमा लाग्न सके पर्यटकहरुको आगमन बढ्ने बताए ।
नेपाल पर्यटन बोर्डले उच्च हिमालको देखि तराईको बिबिधतालाई प्रवद्धन गरि पर्यटन विकासमा लागीरहेको पनि उनले सुनाए । कार्यक्रम नेपाल पर्यटन वोर्डको प्रवद्धन र फाटो पत्रकार महासंघ गण्डकी प्रदेशको सहयोगमा भएको थियो ।