उप–महानगरपालिकाले ४४ वटा छतका पाइप काट्यो

पोखरा, ५ जेठ/पोखरा उप–महानगरपालिका कार्यालयले मापदण्ड विपरित घरको छतबाट बर्षातको पानी बाहिर फाल्नेगरि जडान गरिएका पाइपहरु काट्न शुरु गरेको छ । बर्षातको समय घरको छतबाट झरेको पानीले पैदलयात्रुलाई सास्ती हुने भएकाले उप–महानगरपालिकाले बर्षात शुरु नहुँदै पाइप काट्न शुरु गरेको हो ।
उप–महानगरपालिकाले बुधवार पहिलो चरणमा पोखरा–४, सर्वेश्वर मार्ग र सिद्धार्थ मार्गस्थित नारायण पराजुलीको घरका ४ वटा, ध्रुव कोइरालाको घरका २ वटा, दुर्गामान बुद्धाचार्यको घरका २ वटा लगायत महेन्द्र पराजुली, बसन्त पराजुली, मदन गुरुङ्, बच्कुरा मिया, देवी पराजुली, कृष्ण प्रसाद पराजुली, हरि प्रसाद पराजुली, भद्र कुमारी शेरचन, रामचन्द्र खुस्वु, उत्तमराज घिमिरे, पुरुषोत्तम घिमिरे, झलकलाल कायस्थको १५ वटा घरको कुल ४४ वटा पाइप काटेको जनाएको छ ।

बर्षातको समय घरको छतबाट झरेको पानीले पैदलयात्रु बटुवालाई सास्ती हुने भएकाले तत्काल त्यस्ता पाइपहरु घरधनी आफैले हटाउन उप–महानगरपालिकाले अनुरोध समेत गरेको छ । अन्यथा, स्थानिय स्वायत्त शासन ऐन अनुरुप कारवाही प्रकृया अगाडी बढाउने सुरक्षा तथा निरिक्षण महाशाखा प्रमुख बसन्त चालिसेले बताए ।

उप–महानगरपालिकाले छतका पाइप काट्ने कार्य निरन्तर जारी रहने बताएको छ । पहिलो चरण अन्तर्गत शहरका मुख्य मार्ग एवम् चोकहरुमा पाइप काटिनेछन् । पोखराको महेन्द्रपुल, नयाँबजार, न्युरोड, सिदार्थचोक, पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, नाकढुङ्गा लगायतका स्थानमा मापदण्ड विपरित छतमा जडान गरिएका पाइप उप–महानगरपालिकाले काट्नेछ ।

अन्य भित्री गल्लीहरुमा समेत अनुगमन र गुनासोको आधारमा प्राप्त सुचना अनुसार पाइप काटिने निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...