पोखरामा महाशिवरात्रीमा शिवालय दर्शन यात्रा

पोखरा, ६ फागुन/ महाशिवरात्रीको अवसरमा पोखरामा पहिलो पटक शिव दर्शन यात्रा शुरु हुने भएको छ । धार्मिक पर्यटन प्रवद्र्धनको लक्ष्य र उद्देश्यसँगै आशा र अपेक्षा समेत गरिएको छ ।

दर्शन यात्रामा ५ शिव मन्दिर परिक्रमा गरिने छ । नवआर्दश सामुदायिक विकास समाज लामाचौर पोखरा १९ ले शिव दर्शन यात्रालाई धार्मिक प्रवद्र्धनको पाटो बनाउँदै धार्मिक परम्परा र सँस्कृतिको संरक्षण अभियानको रुपमा लिएको छ ।

बदलिदो सँस्कार, परम्परासहित ऐतिहासिक पृष्ठभूमिका शिव देवालयको उत्थानसँगै संरक्षण र सम्बद्र्धन गर्नुपर्ने खाँचो औल्याउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजना सहित शिव दर्शन कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले सुनाए ।

नवआदर्श सामुदायिक विकास समाजका पुर्व अध्यक्ष समेत रहेका खत्रीले शिव दर्शन यात्रा ५ किलोमिटरका हुने स्पष्ट पारे । पोखरा–१६ कर्णेश्वर शिवालय मन्दिर तुलसीघाटबाट शुरु हुने छ । यात्राले महेन्द्रेश्वर शिवालय पोखरा १६, पोखरा–१९ स्थिथ ठुली पोखरी बीचमा रहेको जलेश्वर शिवालयमा दर्शन गरिने छ ।

त्इसपछि पोखरा–१९ गोस्तेघाटको सर्वेश्वर शिवालय पुग्ने कार्यक्रम तय गरिएको छ । पोखरा–१६ लामाचौर सुरथेश्वर शिवालयमा पुगेर कार्यक्रम समापन हुने रुट तय गरिएको उनले बताए । सुरथेश्वर शिवालय मन्दिर झण्डै ४ सय वर्षअघि स्थापना गरिएको पुरानो देवालय समेत हो ।

‘प्रत्येक शिव मन्दिरमा विधिपूर्वक पूजाअर्जना, रुद्री पाठ, हवन गरिने छ’ उनले भने–‘ सबै शिवालयमा सहज रुपमा दूध तथा पानी चढाउने व्यवस्था मिलाईएको छ ।’ शिव दर्शन यात्रामा स्थानीय आमा समूहले कलशयात्रा गर्ने छन् । १०८ घडासहित विभिन्न भजन किर्तन गर्दै यात्रालाई शोभायमान बनाईने छ ।

कार्यक्रमले साँस्कृतिक सनातन परम्परालाई संरक्षण गर्ने विश्वास छ । लामाचौर क्षेत्रका ऐतिहासिक धार्मिक धरोहरलाई उजागार गर्ने उद्देश्य रहेको उनले बताए । राष्ट्रिय जेष्ठ नागरिक महासंघ काठमाडौंले सहयोग गरेको छ । महासंघले दुई लाख रुपैयाँ र नेपाल पर्यटन बोर्ड प्रदेश कर्यालयबाट गरी ४ लाख ५० हजार आर्थिक सहयोग जुटाईसकिएको छ । बचत रकमले धार्मिक पुरातत्व संरक्षणका क्षेत्रमा आवश्यकता अनुसार खर्च गरिने छ ।

नेपाल सरकारले भ्रमण वर्ष मनाईरहदाँ कार्यक्रमले आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास नवआदर्श सामुदायिक विकास समाजले गरेको छ । कार्यक्रमको लागि समाजका अध्यक्ष कमलबहादुर थापाको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ ।

पुर्व अध्यक्ष दिलबहादुर थापको संयोजकत्वमा पोखरा–१६ बाटुलेचौर र लामाचौरकाका संघ संस्था, आमा समूह, धार्मिक समितिहरु, विद्यालयको सहभागितामा कार्य सम्पादन समिति गठन गरिएको छ । वडाध्यक्षहरु, समाजका पुर्व अध्यक्षहरु, सल्लाहकारसहितको सल्लाहकार समिति बनाईएको छ ।

कमेन्टहरु
Loading...