सडकमा फोहर फाल्नेलाई महानगरपालिकाले ५ हजार जरिवाना

पोखरा, २० वैशाख /सडकमा जथाभावी फोहर फालेको अभियोगमा फुड लभ क्याफेका सञ्चालक रवि तिमिल्सिनालाई पोखरा लेखनाथ महानगरपालिकाले जरिवाना तिराएको छ । बुधबार साँझ पोखराको न्युरोडमा फोहर फाल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको गस्ति टोलीले पाँचजनालार्इ नियन्त्रणमा लिई महानगरलाई जिम्मा लगाएको थियो ।

नियन्त्रणमा लिइएका पाँचजनालाई सोधपुछ गर्दा आफुहरु फुड लभ क्याफेको स्टाफ भएको जानकारी दिएपछि क्याफेका सञ्चालकलाई बोलाएर पाँचहजार जरिवाना गरिएको सरसफाई शाखाका प्रमुख कल्पना बरालले जानकारी दिईन् । फोहरमैला व्यवस्थापन ऐन २०६८ को सजाय सम्वन्धी दफा ३८ को क बमोजिम उक्त जरिवाना लिईएको बरालको भनाइ छ । आफ्नो नीजि घर तथा व्यावसायको फोहर सडकमा जथाभावी फालेर महानगरलाई प्रदुसित गर्ने छुट कसैलाई नभएको उनले बताईन् ।

फोहरमैला व्यवस्थापन सम्वन्धि कुनै समस्या भए सम्वन्धित शाखाको सम्पर्क ०६१,५२८५८५ मा सम्पर्क गर्न सकिने र सम्पर्कपश्चात चौबिस घण्टाभित्र समस्याको समाधान गर्ने शाखाका नायव सुव्वा हर्क गायकले जानकारी दिए । महानगरले गतमहिनादेखि हालसम्म पोखरा ७ का मनोज बराललाई एक हजार, हिमालय दोर्जे रेष्टुरेण्टलाई दश हजार र रंगिला डान्सबारलाई पाँचहजार जरिवाना गराई सकेको गायकको भनाई छ ।

साँझ, विहान तथा रातको समयमा जथाभावी फोहर फाल्ने क्रम बढेसंगै महानगरपालिकाको सरसफाई शाखा, नगरप्रहरी तथा जिल्ला प्रहरी कार्यालय कास्कीले निगरानी बढाएर जरिवानामा कडाई गरेको छ ।

कमेन्टहरु
Loading...