भारी वर्षाबीच फिर्के–बुलौदी सफाइ अभियानमा सयौं सहभागी

पोखरा, ११ असार/फिर्के–बुलौदी सफाइ अभियानले भारी वर्षाको बावजुद पनि निरन्तरता पाएको छ । सयौं सर्वसाधारण भारी वर्षामा पनि छाता ओढेर सरसफाइमा जुटेका थिए ।

अभियानमा रामबजार, घारीपाटन, बैदाम, बगर लगायत वडा नंं ४, ५, ६, ७, ८ र १७ का आमा समूह विभिन्न तमु समाज, टोल विकास संस्था, मुक्तिनाथ विकास बैंक, धर्मस्थली निमावि, समता उच्च मावि, नेपाल स्काउट, रेडक्रस, स्थानीय टोलबासीहरु, निजामती सेवा, सुरक्षा निकाय लगायत नगरपालिकाका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा जीवन विकास केन्द्रका संस्थापक तथा बागमती सफाई महाअभियानका अभियन्ता एलपी भानु शर्मा र पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवरले सम्बोधन गरेका थिए । कास्की प्रहरी प्रमुख घनश्याम अर्यालले उपस्थित सबैलाई सपथ खुवाएका थिए ।

शनिबार मुक्तिनाथ विकास बैकका तर्फबाट प्रबन्ध निर्देशक नारायण श्रेष्ठले १५ जोर गमबुट र २ हजार थान ग्लोव प्रदान गरेका थिए । विश्व वातावरण दिवसको अवसरमा सुरु अभियान चौथो श्रृंखलासम्म आइपुग्दा सर्वसाधारणको उत्साहजनक उपस्थिति हुने गरेको अभियान संयोजक रामबहादुर पौडेलले बताए ।

कमेन्टहरु
Loading...