पोखरामा आज (मंगलबार) ‘चाइनिज फेष्टिवल’

पोखरा, १४ असोज । पोखराको लेकसाइडमा आज ‘चाइनिज फेष्टिवल’ आयोजना हुदैछ । गणतन्त्र चीनको ७० औं वर्षगाँठ तथा नेपाल र चीनबीच दौत्य सम्बन्ध भएको ६४ औं वर्षगाँठको अवसरमा ओभरसिज चाइनिज एशोसियसन पोखराले लेकसाइडको अम्बोटमा फेष्टिवल गर्न लागेको हो ।

चिनीया राष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गर्न लागिएको हो । महोत्सव साँझ ५ बजे पछि शुरु हुने ओभरसिज चाइनिज एशोसियसन पोखराका अध्यक्ष झोन जियाङ साङले जानकारी दिए । महोत्सवमा नेपाली र चिनीया सांस्कृतिक प्रस्तुती रहने उनले बताए ।

कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने महोत्सवको समन्वयकर्ता तथा पर्यटन व्यवसायी नरेशबहादुर भट्टराईले जानकारी दिए । महोत्सवको उद्धेश्य दुबै देशका संस्कृति प्रदर्शन गरेर एक अर्काका देशका नागरिक बिच सम्बन्ध प्रगाढ बनाउनु रहेको उनले बताए ।

महोत्सवले पर्यटन प्रवद्र्धनमा पनि सघाउने विश्वास गरिएको छ । महोत्सवमा चाइनिज पर्यटकहरुको उल्लेख्य सहभागिता रहने एशोसियसनले बताएको छ । नेपालमा वार्षिक १ लाख ५० हजार चिनीया पर्यटक आउने गरेका छन् । नेपाल आएका पर्यटक मध्ये ४० प्रतिशत मात्रै पोखरा आउने गरेको नेपाल पर्यटन वोर्डले जनाएको छ । चिनीयाहरु ब्यापार, ब्यबसाय गर्नपनि नेपाल आउने गरेका छन् । पोखरामा मात्रै चिनीयाले १७ वटा होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका छन् ।

पछिल्लो क्रममा नेपालमा चिनीया पर्यटकको आगमन बढ्दै गएको बताइन्छ । तर चिनबाट १४ करोड नागरिक पर्यटकका रुपमा वर्षेनी विदेश भ्रमणमा जाने गरेपनि नेपालमा भने नगन्य मात्रै आउने गरेको तथ्यांक देखिन्छ । नाकामा हुने कडाई, नेपालको बाटो, शान्ति सुरक्षाको प्रत्याभूति र प्रवद्र्धनात्मक कार्यक्रम नहुनुका कारण सोंचेजति चिनीया पर्यटक नेपाल नआएको जानकारहरु बताउँछन् । नाकामा सुधार, सडकको अवस्थामा सुधार र प्रवद्र्धन गर्न सके चिनीया पर्यटक ह्वात्तै बढ्ने उनीहरुको दाबी छ ।

कमेन्टहरु
Loading...