पोखरा विमानस्थलमा क्वारेन्टाइनमा रहेका चिनियाँ काममा फर्किए, कोरोना देखिएन

पोखरा, ४ चैत / चीनबाट पोखरा विमानस्थल निर्माणका लागि आएका कामदारहरु सेल्फ क्वारेन्टाइनबाट काममा लागेका छन् । कोरोना भाइरसको शंकास्पद भन्दै क्वारेन्टाइनमा राखिएका १ सय ७ जना कामदार काममा थालेका हुन् ।

१५ दिन क्वारेन्टाइनमा बस्दा समेत उनीहरुमा कोरोना नलागेको पुष्टि भएपछि ती चिनियाँ काममा फर्किएको पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।

मुनकर्मीले मंगलबार विज्ञप्ती जारी गर्दै मजदुर सोमबारदेखि काममा फर्किएको उल्लेख गरेका छन् । चीनको सिचुवान प्रान्तबाट आएका चिनियाँ उतै पनि क्वारेन्टाइनमा बसेको र आउँदा कोरोना नलागेको प्रमाणपत्रसमेत लिएर आएको जानकारी मुनकर्मीले दिए ।

चिनियाँ मजदुरमा कोरोना देखिएको लगायत अरु अप्रिय हल्लासमेत चलेकोमा त्यसमा कुनै सत्यता नरहेको मुनकर्मीले सुनाए । उनकै भनाइमा विमानस्थलको ५६ प्रतिशत काम पूरा भइसकेको छ ।

मार्च महिनाका ४, ५ र ६ गते तीन दिन गरेर चिनियाँ मजदुर पोखरा आएका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरामा २ सय ८० चाइनिजर र १ सय ९० नेपाली गरि ४ सय ७० रहेका छन् । तीमध्ये गत हप्ता पोखरा आएका ७१ जना चिनियाँ बाहेक अन्य मजदुरहरुले नियमित काम गरिरहेका छन् ।

विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन लगायत महत्वपूर्ण काम पूरा भइसकेको छ। अहिले एयर ट्राफिक टावरको ८ तले अग्लो बिल्डिङ, टर्मिनल, हेङ्गर लगायत १४ वटा बिल्डिङको निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । एयर ट्राफिक टावर, टमीनल बिल्डिङ, हेङ्गर लगायत बिल्डिङको फिनिसिङको काम हुँदैछ। बाँकी काम इक्युपमेण्ट इन्स्टल गर्ने मसिन आएपछि सुरु हुनेछ ।

विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्डयन संस्था (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । ती विमानको यात्रु क्षमता १ सय ९२ हाराहारीमा हुनेछ ।

कमेन्टहरु
Loading...