नानी शुक पुरस्कारबाट आचार्य सम्मानित

पोखरा, १ असोज/ नानी शुक स्मृति शिक्षा पुरस्कारबाट पर्वतका समाजसेवी लोकनाथ आचार्य सम्मानित भएका छन् । नानी शुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १५ औं वार्षिकोत्सव अवसरमा बुधबार आचार्यलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशि २५ हजार ५ सय २५ सहित ताम्रपत्र र दोसल्ला रहेको छ ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठले उनलाई सम्मान गर्दै जीवनको सार्थकता सत्कर्म हो भने । उनले समाजमा ३ प्रकारका मानिस हुने बताए । जसमध्ये एकथरि मामको लागि, अर्को दामको लागि र तेस्रो सामाजिक कार्यका लागि मरिमेट्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दु कोइराला सुवेदीले सम्मानित व्यक्तित्वलाई बधाई दिँदै प्रतिष्ठानले गरेको अनुकरणीय कार्यको प्रशंसा गरिन् । पुरस्कार छनोट समिति संयोजक एवं प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइरालाले सम्मानित व्यक्ति आचार्यको बारेमा परिचय दिँदै पर्वत जिल्लामै शिक्षा र समाजसेवाको एक खम्बा भएको चिनाए ।

प्रतिष्ठान संरक्षक वीरेन्द्रकुमार हिराचनले आफ्नो दिवंगत बाबुआमाको स्मृति गर्दै गीत गाएर मन्त्रमुग्ध पारेका थिए । सम्मानित व्यक्तित्व ८० वर्षीय आचार्यले मानिस मरेपछि पनि समाजले सधैँ सम्झिराख्ने काम गर्नुपर्ने बताए ।

प्रतिष्ठान अध्यक्ष तारानाथ गौतम पाखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठान संरक्षक शान्ति हिराचन र धन्यवाद ज्ञापन संरक्षक मनु हिराचनले गरेका थिए । कार्यक्रम संचालन सुशील ज्वारचनले गरेका थिए । सो अवसरमा भजनसमेत प्रस्तुत गरिएको थियो ।

नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा लामो समयदेखि समाजको विभिन्न क्षेत्रमा क्रियाशील शिक्षासेवी, समाजसेवी, नागरिक समाज, व्यवसायी, प्राध्यापक, शिक्षक, कलाकार, पत्रकार लगायतको विशेष उपस्थिति थियो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर कार्यक्रम सुरु हुनै लाग्दा अस्वस्थको कारण देखाउँदै आएनन् । जसका कारण उपस्थित सहभागीले खिन्न महसुस गरेका थिए ।
लामो समयदेखि शिक्षा र समाजसेवाका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका समाजसेवी तथा शिक्षासेवीलाई हरेक २ वर्षमा सो पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठानले जनाएको छ ।

यसपालि सम्मानित कुष्मा–७ निवासी आचार्यले शिक्षा र सामाजिक क्षेत्रमा ५० वर्षदेखि योगदान दिँदैआएका छन् । शिवालयको पूर्व उपप्रधानपञ्च उनी कुष्मामा अनिवार्य निःशुल्क शिक्षाको स्थापना गर्नमा पहल गर्नुका साथै कुष्मामा विद्यालय तथा क्याम्पस स्थापनामा विशेष पहल गरेका थिए ।

शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा उनका परिवारद्वारा ९ लाख रुपैयाँ अक्षयकोष स्थापना गरिसकिएको र सो अक्षयकोष व्याजबाट पुरस्कार प्रदान गरिँदैआएको प्रतिष्ठान संरक्षक वीरेन्द्रकुमार हिराचनले जानकारी दिए । यसअघि भक्ति हिराचन (मुस्ताङ), अनन्तनाथ पौडेल (कास्की), पद्मराज कोइराला (कास्की), दीव्यरमण अर्याल (तनहुँ), पद्मसिं विश्वकर्मा (बागलुङ), कृष्णप्रसाद पौडेल (अर्घाखाँची), पूर्णभद्र नेउपाने (लमजुङ) पुरस्कृत भैसकेका छन् ।

कमेन्टहरु
Loading...