बिहेको दिन फरार भएको दुलाहा पोखराबाट पक्राउ

पोखरा, १५ फागुन / बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो । करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो । मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो ।

काठमाडौंम रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो। बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्कौ चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन् । केटी पक्ष फोन डायल गर्न थाले ।

आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वरमा पारेर आफ्ना माइला बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो ।

जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो । आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे । वृत्तका डीएसपी दुर्गा रेग्मी सहितको टोली पार्टी प्यालेसमा पुगेर सबै जानकारी लियो। डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो। उनीहरूको कुरा सुनेर म चकित परें।’ १५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो ।

राति अबेरसम्म पनि जन्ती आएनन्, केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो । उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर बसेका रहेछन् । ‘हामी पुग्दा ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन् ।’ विवाहको निम्तो कार्डका लागि केटाले दिएका बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो । केटाको वास्तविक नाम साहिल बस्नेत रहेको प्रहरीले पत्ता लगायो ।

उनै साहिललाई पोखरा विमानस्थलबाट चार हजार अवैध अमेरिकी डलर सहित बस्नेत लाई पक्राउ गरेको छ । प्रहरीले उनीमाथि अपराधिक विश्वासघात तथा ठगी गरेको भन्दै मुद्दामा जाहेरी लिएर अनुसन्धान थालेको छ । अवैध रकम सहित भेटाएको हुँदा उनलाई बुटवलको राजश्व विभागमा बुझाएको प्रहरीले जानकारी दिएको छ । साहिललाई काठमाडौं ल्याएर म्याद थप गरी अनुसन्धान गरिनेछ ।

कमेन्टहरु
Loading...