दोस्रो मालेपाटन सांस्कृतीक तथा सांगितीक मेला जारी

पोखरा, २५ असार /पोखराको मालेपाटनमा जारी दोस्रो मालेपाटन सांस्कृतीक तथा सांगितीक मेलाको मंगलबार पाँचौे दिन बिभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् ।

मेलामा आयोजना गरिएको प्रथम रबिन्द्र अधिकारी स्मृती कप वडा स्तरीय भलिबल प्रतियोगितामा पनि बिभिन्न चरणका खेलहरु भैरहेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शकहरुको चाप बढिरहेको छ ।

मंगलबार जारि भलिबल खेल अन्र्तगत अहिले क्वाटर फाइनलका खेलाहरु सञ्चालन भैरहेका छन् । वडा नं ३३ र वडा नम्बर २० सेमिफाइनलमा प्रबेश गरिसकेको मेलाका संयोजक प्रेम गुरुङ्गले जानकारी दिए ।

भलिबल प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । मेला असार २० गते बाट शुरु भएको हो । भलिबल अन्र्तगतको फाइनल खेल भने ३१ गते हुने आयोजकले जनाएको छ ।

सोमबारको सांस्कृतीक कार्यक्रम अन्र्तगत कृष्ण समिप सुबेदी, ज्योती मगर, लगायतले आफ्नो प्रस्तुती राखेका थिए । त्यस्तै मंगलबार गायक सन्तोष बस्याल, प्रदिप त्रिपाठी, अमर धिताल सञ्जु बिक र बुधबार प्रकाश सपुत लगायतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...