पोखरा, २ माघ/ गण्डकी प्रदेश सांसद राजिव पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने बताएका छन् । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गर्न तिव्र लविङ गरिरहेका सांसद पहारीले रत्न मन्दिर भित्रै सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
थारु समाज पोखराले माघी पर्वको अवसरमा विहीबार पोखरामा आयोजना गरेको ‘प्रथम माघी महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै उनले भने,‘ पोखरामा अब चाँडै हिमागृह र रत्न मन्दिर खुल्दैछ,यो खुलेपछि रत्न मन्दिर परिसरमा सांस्कृतिक हल बनाएर त्यहिं कहिले थारु त कहिले मगर, गुरुङ, नेवारलगायतका जातिहरुको संस्कृति प्रदर्शन गर्नुपर्छ ।’ यसो गर्दा संस्कृतिपनि जोगिने र पर्यटकको बसाईपनि लम्बिने उनको भनाई छ ।
संस्कृति देशको सम्पती भएकाले यसको संरक्षण राज्यले नै गर्नुपर्ने बताए । कला, संस्कृति संरक्षण गर्न नसक्ने हो भने देशको औचित्य नै नहुने उनको भनाई थियो । पर्यटक आकर्षित गर्न संस्कृतिको भूमिका महत्वपूर्ण हुन्छ,‘उनले भने,‘पर्यटक आगमनमा बृद्धि ल्याउन र पर्यटकको बसाई लम्ब्याउनपनि यसले भूमिका खेल्छ ।’
सांसद पहारीले फेवाताल भौतिक, प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा परेको बताए । उनले भने,‘ताल सानो पोखरीमा परिणत हुँदैछ, अनि हिमाल काला पत्थरमा, पदमार्गहरु हिलाम्मे र धुलाम्मे हुँदैछ, त्यसैले यसको संरक्षणमा हामी सबै लाग्नुपर्छ ।’ फेवाताल संरक्षणका लागि सिल्टेसन ड्याम बनाउन शुरु भएको भन्दै यो सम्पन्न भएपछि फेवाताल पुरिन केहि हदसम्म रोकिने उनले दाबी गरे ।