लकडाउन पालना गर्दै र गराउँदै युवा

पोखरा, १६ चैतः कोरोना भाइरसको संक्रमणका कारण विश्व नै तहस नहस भएका अवस्थामा सरकारले गरेको लकडाउनको पालना आँफूले गर्ने र अरुलाई पनि गराउने तर्फ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीका युवाले सकृयता देखाएका छन् ।

लकडाउनको अधिकांशतः युवाले पूर्णत पालना गरेका छन् नै आफ्ना गाउँ वस्तीमा संक्रमण नभित्रियोस् भन्दै ठाउँ ठाउँमा बाटो बन्द गरेर आवागमन रोक्ने तर्फ पनि यहाँका युवाहरू कृयाशिल छन् ।
शनिबार मात्रै साविक भरतपोखरी गा.वि.स.को वडा नं ५ र ६ को सिमानामा पर्ने बर भोटेनीमा मूल सडकमा नै बाँस गाडेर स्थानीय युवाले आवागमन रोकेका थिए ।

सवारी साधन लिएर उक्त बाटो हुँदै तनहुको दुलैगौडा तथा स्याङ्जाका विभिन्न स्थानका साथै पोखराको छोरेपाटन निस्कने क्रम बढेको भन्दै आँफूहरू आवागमन रोक्न बाध्य भएको स्थानीयले बताए ।

आइतबार विहानै भरतपोखरीकै बागमाराका युवाले पानी ट्याङ्कीमा बाँस तेसारेर बाटो अवरुद्ध गराएका थिए । लकडाउनको समयमा आवतजावत गर्ने क्रम बढेका कारण आँफूहरु बाटोमा बार लगाउन बाध्य बनेको स्थानीय युवा खेमबहादुर नेपालीले बताए ।

विश्वव्यापी फैलिएको कारोना भाइरसको संक्रमणबाट आँफू पनि जोगिनुपर्ने र अरुलाई पनि जोगाउनुपर्ने दायित्व भएको बताउने अर्का युवा सुनिल सुनारले लकडाउनको पूर्ण रुपमा पालना गर्न सबैलाई आग्रह गरे ।

लक डाउनका पछिल्ला दिन भरतपोखरीमा यसको पालना प्रभावकारी रुपमा हुँदै गएको छ ।

कमेन्टहरु
Loading...