Ganthan News Pokhara
All news from Pokhara & around

गण्डकी प्रदेश लोक सेवा गठनको बाटो खुल्यो

0

पोखरा, २७ साउन/ गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणिकरण गरेका हुन् । विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो ।

गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले साउन १२ गते प्रमाणित गरेको विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा साउन १४ गते पठाएको थियो । प्रदेश प्रमुख कुँवरले आइतबार नै पाँच/पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संघीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक/एक प्रति पठाइएकोे बताए ।

पोखरामा एक्सिस एजुकेशन नेटवर्कले न्युजल्याण्ड सेमिनार गर्दै