लेकसाइडलाई शान्त क्षेत्र बनाउन प्रहरी सक्रिय

पोखरा, २४ चैत/ पर्यटकीय क्षेत्र लेकसाइडलाई शान्त र व्यवस्थित क्षेत्र बनाउनका लागि प्रहरीले सक्रियता देखाएको छ । गण्डकी अञ्चल प्रहरी प्रमुख एसएसपी विष्णुहरी गौतमले बिहीबार मातहत प्रहरीलाई निर्देशन दिँदै लेकसाइडलाई पर्यटनमैत्री तरिकाले शान्त बनाउनुपर्ने बताए ।

पर्यटकीय क्षेत्र लेकसाइडको ट्राफिक व्यवस्थापनमा विशेष चासो लिने गौतमले बताए । पोखरा पर्यटन परिषद्को आयोजनामा भएको छलफलमा लेकसाइडलाई हर्न निषेधित क्षेत्र बनाउन पहल थाल्ने बताए । नयाँवर्षको पहिलो दिनबाट हर्न निषेधित क्षेत्र बनाउने पहल गर्ने उनले बचन दिए । यसअघि पनि लेकसाइडलाई हर्न निषेधित क्षेत्र बनाएको तर, निर्णय कार्यन्वयन नभएकोतर्फ ध्यानाकर्षण भएको उनले सुनाए ।

लेकसाइडमा संचालित डिस्को र डान्स रेस्टुरेन्टलाई साउण्डप्रुफ बनाउने, मोटरसाइकल मोडिफाइ गर्न रोक लगाउने र प्रेसर हर्न राख्न नपाउने गरी कडाई गर्ने गौतमले बताए । ‘कानुन भन्दा बाहिर गएर पर्यटन क्षेत्रमा डिस्टर्भ गर्नेलाई कानुनी कारवाहि हुनेछ,’ उनले भने ‘त्यसका लागि प्राविधिकहरु सचेत हुनुपर्नेछ ।’

लेकसाइडबाट छुट्ने ठुला आकारका पर्यटक बसलाई पर्यटक बसपार्कबाट छुट्न लगाउने बाध्य गरिने पनि एसएसपी गौतमले बताए । ‘होटलको ढोकाढोका चहार्न पाइँदैन । त्यही अनुसार व्यवस्थित गर्नुपर्छ,’ उनले भने । लेकसाइडमा भारतीय पर्यटकका ठुलाठुला बस पार्किङ गरिने भएकोले ती बसलाई भिन्दै पार्किङस्थलमा लगेर राख्न बाध्य पार्ने पनि प्रहरीको तयारी रहेको उनले बताए ।

छलफलमा बोल्दै परिषद् उपाध्यक्ष भरतराज पराजुलीले पर्यटकीय क्षेत्रलाई शान्त बनाउन सबैको सहयोग चाहिएको बताए । परिषद अध्यक्ष केदार शर्माले लेकसाइडमा अनावश्यक डिस्टर्व गरेर पर्यटक तर्सिने गरेको बताए । ‘पर्यटकीय क्षेत्र भएकोले पाहुनाहरु शान्तपुर्वक बस्न पाउनुपछ,’ उनले भने । उक्त कार्यक्रममा पोखरा पर्यटन परिषद अन्तरगतका सम्पूर्ण संस्थाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई, वासु त्रिपाठी र टिकाराम सापकोटाले समेत आफ्नो भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...