Ganthan News Pokhara
All news from Pokhara & around

भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र

0

पोखरा, २८ जेठ /कम्युनिटी सपोर्ट ग्रुप हेरचाह ग्राम अन्तर्गत पोखरा महानगरपालिका वडा नंं २० भलाममा लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवन निर्माण गरिएको छ । लागु औषध तथा मदिरा परामर्श र उपचार केन्द्र भवनको मंगलबार एक कार्यक्रमका बीच धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले उद्घाटन गरे ।

दुई तले उक्त भवनको लागत करिव एक करोड रहेको छ । आठ रोपनी नौ आना क्षेत्रफल रहेको उक्त जग्गा एक दशक अगाडि १० लाखमा खरिद गरिएको कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

उनका अनुसार उक्त जग्गा कम्युनिटी सपोर्ट ग्रुपले महायज्ञ गरी उठाएको करिव ४५ लाख मध्ये बाट १० लाखमा जमिन खरिद गरिएको हो । ४० जनाको क्षमता रहेकोमा अहिले १७ जान भलामको उपचार केन्द्रमा रहेको कम्युनिटी सपोर्ट ग्रुपका प्रोग्राम म्यानेजर लाल गुरुङले जानकारी दिए ।
भवन निर्माणका लागि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले २० लाख सहयोग गरेका छन् ।

खास गरी यस क्षेत्रको शिक्षा स्वास्थ्यमा सहयोग गर्दै आएका आनन्दले कम्युनिटी सपोर्ट गु्रपलाई पनि भवन निर्माण सहयोग गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले सवै मिलि भवनको सहि सदुपयोग गर्न आग्रह गरे ।

‘म सँग पैसा भएर सहयोग गरेको होइन सवैले सहयोग गरेको रकम यहाँ दिएका हौं’ उनले भने, ‘यहाँहरुले राम्रो गर्दै जानुहोस् आगामि दिनमा पनि सहयोग गर्दै जानेछौं ।’ पोखरा महानगर पालिका वडा नं. २० का वडा अध्यक्ष सिम गुरुङले राज्यले गर्ने काम संघ संस्थाले गरेको भन्दै आभार व्यक्त गरे ।

‘कम्युनिटी सपोर्ट गु्रपले हाम्रै वडामा आएर उदाहरणिय काम गरेको छ’ वडा अध्यक्ष गुरुङले भने, ‘तपाईहरुको हरेका काममा वडाको तर्फबाट हार्दिकताका साथ सर्पोट रहन्छ ।’ स्वामी ऊःपण्डिता आनन्द फाउण्डेशन अन्नपूर्णका संयोजक जगन गुरुङ धार्मिक गुरु स्वामी ऊःपण्डिता आनन्दले यस अन्नपूर्ण क्षेत्रमा पाँच करोड भन्दा वढि आर्थिक सहयोग गरेको जानकारी दिए ।

‘यस क्षेत्रको शिक्षा स्वास्थ लगायतका क्षेत्रमा उहाँको सहयोग अतुलनिय रहेको छ’ उनले भने,‘फाउण्डेशनले समन्वय गर्ने काम मात्रै गरेको छ ।’ कार्यक्रममा कम्युनिटी सपोर्ट गु्रपका संरक्षक तथा एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्व मोहन गौचन, कम्युनिटी सपोर्ट ग्रुपका संरक्षक सुन्दर गुरुङले समाजको विकृत विसंगती न्यूनिकरण गर्न संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कम्युनिटी सपोर्ट ग्रुपका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव रामचन्द्र पोख्रेलले स्वागत र मौसम गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।