खराने राखीडाँडा सडक स्तरोनन्ति हुँदै

पोखरा, ५ जेठ/पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि कनेक्टिङ सडक निर्माणको कामलाई तीव्रता दिएको छ ।

महानगरले कनेक्टिङ सडक निर्माण गर्नका लागि २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा २६ मा पर्ने खराने राखीडाँडा सडक स्तरोन्नति गरिने भएको छ ।

खरानेदेखि २ किमी १ सय मिटर सडकलाई स्तरोन्नति गरी ग्राबेलिङ गरिने महानगरपालिकाले जनाएको छ । सडकलाई ग्राबेलिङ गर्न र नाली निर्माण गर्नका लागि जिएसआर निर्माण सेवाले जिम्मेवारी पाएको पोखरा महानगरपालिका सहरी पूर्वाधार महाशाखाका इन्जिनियर धुव्र भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार खरानेदेखि वडा नम्बर २८ को सिमानासम्मको सडकलाई स्तरोन्नति गर्न लागिएको हो । उनका अनुसार महानगरपालिकाले उक्त काम गर्नका लागि १ करोडको टेण्डर निकालेकामा निर्माण कम्पनीले ६३ लाख ११ हजार ४ सयमा काम सक्ने गरी महानगरपालिकासँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार १ किमी नाला निर्माण, ९ वटा कल्र्भट र २ हजार १ सय मिटर सडक ग्राबेलिङ गर्नुपर्नेछ । ठेक्का पाएको निर्माणसेवासँग गत चैत २६ गते सम्झौता भएको हो भने आगामी भदौसम्ममा उक्त काम सक्ने समयसिमा तोकिएको छ । सडक नालासहित ९ मिटर फराकिलो हुने वडा नम्बर २६ का सब इन्जिनियर इन्द्रकुमार सुवेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...