राहत बाँडदै पोखराका कलाकार

पोखरा, ७ जेठ/ पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका हातमुख जोड्न नै समस्या परेको छ ।

गरिव, निमुखा तथा अपाङ्गहरुको घरमा खाद्यान्न अभाव नहोस भनेर पोखराका कलाकार यतिबेला राहत वितरणमा जुटेको हो । पोखरा साँगितिक कलाकार संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा तेस्रो चरणको राहत वितरण कार्यक्रम पनि सम्पन्न गरेको छ । संघले पोखरा वडा नम्बर १० तथा १५ क्षेत्रका अपाङ्गता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरेको हो ।

४७ घर अपाङ्गता भएका व्यक्तिको परिवारलाई राहत वितरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए । संघले पोखराको कोलपाटन, नयागाउँ, रामबजार क्षेत्रमा राहत वितरण गरेको हो । लकडाउन पिडित विपन्न परिवारको घरघरमै पुगेर राहत वितरण गरिएको गायक कर्णदासले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ ।

राहतमा १० देखि २० किलो सम्म चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको गायक भाइ गुरुङ्ग जानकारी दिए ।
रामबजार क्षेत्रको व्यवस्थापन गायक आनन्द बज्राचायले गरेका थिए । उनले स्थानिय र जनप्रतिनिधी संग सहकार्य गरि राहत पाउनुपर्ने अपाङ्गता भएका परिवारको पहिचान गरेको बताए ।

राहत पाएपछि अपाङ्गता भएका व्यक्तिहरुको मुहार खुसी छाएको थियो । राहत वितरण कार्यक्रममा गायक कर्णदास, भाइ गुरुङ्ग, विनोद वानिया, भाष्करध्वज श्रेष्ठ, आनन्द बज्राचार्य, शान्त बज्राचार्य, संगीतकार सुनिल थापा, तेज केसी, तिल गुरुङ्ग, बसन्त थापा र गीतकार राजेन्द्र अधिकारी सहभागी थिए ।

यसअघि संघले पोखरा–६ लेकसाइडका जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवार गरि ५३ परिवार तथा पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरिसकेको छ । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा सँििगतिक कलाकार संघले राहत वितरण गरेको हो ।

कमेन्टहरु
Loading...