पोखराको हिमा गृहमा रिसोर्ट चलाउन दिने तयारी, पोख्रेलीको विरोध

फाइल तस्बिर

पोखरा, १२ पुस / नेपाल ट्रष्टको कार्यालयले पोखराको हिमा गृह र चितवनको दियालो बंगलालाई पनि रिसोर्ट चलाउन भाडामा दिने तयारी भएको जनाएको छ । गोकर्ण रिसोर्टबारे लिज सम्झौताबारे विवाद भइरहेका बेला नेपाल ट्रष्टले भने चार ठाउँको संरचना रिसोर्ट व्यवसायका लागि भाडामा दिने तयारी गरेको जनाएको हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ट्रष्टका सचिव गजेन्द्रकुमार ठाकुरले हिमा गृह, दियालो बंगला, फर्पिङ सहितका चार ठाउँमा रिसोर्टका लागि लिजमा दिन लागिएको बताए । नेपाल ट्रष्टको स्वामित्वमा रहेको पूर्व राजपरिवारका सदस्यले प्रयोग गर्दै आएको पोखराको लेकसाइड स्थित हिमागृह हो । पूर्व राजा पोखरा आउँदा फेवाताल किनार स्थित रत्नमन्दिर र राजपरिवारका अन्य सदस्यहरु हिमागृहमा बस्थे ।

हिमागृह पोखरा ६ बैदामको कित्ता नम्बर १०३८ मा १०—४—१—१ रोपनी मा फैलिएको छ । नेपाली सेनाको संरक्षणमा रहेको छ । पूर्वराजपरिवारको सम्पत्ति रहेको पोखराको रत्नमन्दिर, हिमागृह, बाराहीघाट, बसुन्धरा पार्क र कोमागानै पार्क लगायतको जग्गामा पुरातात्विक, ऐतिहासिक संग्रहालयको रुपमा विकास गरी लैजान पोख्रेलीको माग छ ।

जनआन्दोलन २०६२/०६३ को भावना र चाहना अनुरुप नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ (४) ले राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रस्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ भन्ने व्यवस्था मुताविक ट्रस्ट स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश २०६४ जारी भइ नेपाल ट्रस्ट स्थापना भएको हो ।

कमेन्टहरु
Loading...