पोखरा , ३० जेठ /नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले आफ्नो १० औं स्थापना दिवस मनाएको छ । “स्वास्थ्य क्षेत्रको सरोकार : सामजिक सुरक्षा र मर्या्दित रोजगार भन्ने उद्घोषका साथ १० बर्ष पहिले स्थापना भएको स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकहरुको संगठन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले बिहिबार मुलुकभर बिबिध कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
यसैक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश कमिटीले पनि एक कार्यक्रम गरि १० औं स्थापना दिवस मनाएको छ । कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेशका सांसद मिना गुरुङ्गले सामुहिक एकतामा बल हुने भन्दै आफ्ना हक र अधिकारको लागि एकताबद्द भएर अगाडि बढ्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई आग्रह गरिन् । उनले मजदुरका पक्षमा आफु सधै रहने बताउदै संसदमा पनि मजदुरका पक्षमा आवज बुलन्द पार्ने प्रतिबद्दता ब्यक्त गरिन् ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्र खत्रीले श्रमिकहरुले क्षमता बिकास र नेतृत्व बिकासमा ध्यान दिन जरुरी रहेको भन्दै सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गराउन भुमिका खेल्नु पर्ने बताए । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका इन्चार्ज राजेन्द्र पौडेलले आफ्ना हक र अधिकारका लागि पनि नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनमा लाग्न आवश्यक रहेको भन्दै एकतामा नै बल हुने दाबी गरे ।
नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन गण्डकी प्रदेश कमिटीका अध्यक्ष गोबिन्द नाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन पद्म नर्सिङ्ग होम प्रा।लि इकाई कमिटीका अध्यक्ष कृष्ण आचार्यले गरेका थिए । केक काटेर सुरुवात गरिएको स्थापना दिवस कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रिय सदस्य जितेन्द्र पौडेल र मञ्जु आचार्य, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका इकाई कमिटीहरु पद्म नर्सिङ्ग होम प्रालि पोखरा, हिमालय आँखा अस्पताल पोखरा, मनिपाल शिक्षण अस्पताल पोखरा र कास्की मोडल अस्पताल पोखराका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।