गुरु यु पण्डिता आनन्दद्वारा नवआदर्श सामुदायिक विकास समाजलाई २० लाख सहयोग घोषणा

पोखरा, २० भदौ/पोखराको लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजलाई २० लाख रुपैयाँ सहयोग प्राप्त हुने भएको छ । नेपालमा रहेर लामो समयदेखि समाजसेवामा क्रियाशील मलेसियन नागरिक रोटरियन गुरु यु पण्डिता आनन्दले सोमबार संस्थाको लागि २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

गुरु यु पण्डिता आनन्द
गुरु यु पण्डिता आनन्द

संस्था सामाजिक सेवामा क्रियाशील रहेको र यसबाट आफू प्रभावित भएको भन्दै उनले उक्त सहयोग घोषणा गरेको हुन् ।
संस्थाले आयोजना गरेको हरितालिका तीज महोत्सवको समापन दिन गुरुले १ लाख रुपैयाँ घोषणा गरेकोमा भोलिपल्ट उक्त सहयोगमा पुनः १९ लाख रुपैयाँ थपेको जानकारी महोत्सवका प्रचार संयोजक अर्जुन अधिकारीले दिए ।

रोटरी क्लब अफ पोखराको संयोजनमा उक्त रकम सेप्टेम्बर २८ अर्थात् असोज १२ गते पोखरामा एक समारोह आयोजना गरी उपस्थितिमा हस्तान्तरण गर्ने कार्यक्रम छ । सहयोगका लागि रोटरीका पूर्वअध्यक्ष किरणलाल श्रेष्ठ र बोर्ड अफ डाइरेक्टर गणेशमानसिंह भण्डारीले विशेष पहल गरेका थिए । नवआदर्श सामुदायिकका अध्यक्ष धर्ममानसिंह भण्डारीले सहयोगप्रति आभार व्यक्त गर्दै संस्थाले संचालन गरेको एम्बुलेन्स तथा शव बाहन संचालनमा उक्त रकम खर्च गरिने जानकारी दिए ।

३५ वर्षदेखि नेपालमा रहेका ६० वर्षीय हिमालयज गुरुले नेपाललाई नै आफ्नो घर मान्ने गरेका छन् । एक्यापलाई केन्द्र मानेर उनले विभिन्न विद्यालयका भवन निर्माण तथा कम्प्युटर ल्याब, लाइब्रेरी संचालनका लागि समेत आर्थिक सहयोग पनि गरेका छन् । साथै भूकम्पबाट क्षतिग्रस्त भवनको पुननिर्माणको लागि झण्डै २० लाख रुपैयाँ सहयोग गरेको बताइएको छ । कास्कीको घार्मीस्थित महेन्द्र उच्च माविलाई यसअघि उनले कम्प्युटर हस्तान्तरण गरेका थिए ।

२६ वर्षको उमेरमा छाँगोबाट खसेर गम्भीर घाइते भएका उनी प्यारालाइसिसको शिकार बनेका थिए । चिकित्सकले उपचार सम्भव हुँदैन भनी बताइरहँदा अस्पतालको बेडमा उनले गरेको कडा खालको तपस्यापछि आश्चर्यलाग्दो तरिकाले पहिले अवस्थामा फर्किएका थिए ।

कमेन्टहरु
Loading...