अनेरास्ववियुको गजल प्रतियोगितामा ‘गोर्जे’को गजल पहिलो

पोखरा, १ फागुन​/अनेरास्ववियु पर्वत–कास्की सम्पर्क कमिटीले बुधबार गजल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा श्रीराम अधिकारी ‘गोर्जे’को गजल पहिलो भएको छ । उनले पहिलो स्थानसहित ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगितामा परिविक्रमको गजल द्वितीयसहित ३ हजार रुपैयाँ र स्वष्तिक अपारको गजल तृतीय स्थानसहित २ हजार रुपैयाँ ल्याउन सफल भयो । प्रतियोगितामा प्राञ्जल र कपिल शर्मा निर्णायक मण्डलको प्रतिनिधित्व गरेका थिए । प्रतियोगिताका लागि आएको ४० गजलबाट २० जनलाई गजलकारलाई अन्तिम वाचनका लागि चुनिएको थियो ।

कार्यक्रममा संयोजक कमल सुवेदीले पर्वतबाट कास्कीमा अध्ययन गर्न आएका र साहित्यिक रुचि भएकालाई एकै ठाउँमा मिलन गराउने उद्देश्यले प्रतियोगिता गरेको सुनाए । ‘कार्यक्रमको उद्देश्य नै यहाँ छरिएर रहेका एकै जिल्लाबासीलाई रचनात्मक गतिविधिमा समावेश गर्नु हो,’ उनले भने । उनले पर्वत र कास्कीका सबै विद्यार्थीले अध्धयनसँगै सामाजिक कार्यमा पनि हात बढाउनु पर्ने सुझाव दिए ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीलेस्ववियु चुनाव हुन नदिन विभिन्न चलखेल भइरहेपनि त्यसबाट हतोत्साही नहुन आग्रह गरे । ‘विद्यार्थीले आफ्ना लागि आन्दोलन गरेको प्रतिफल खोज्दैछन् । तर, त्यो प्रतिफल पूरा हुन नदिन विभिन्न चलखेल भइरहेको छ,’ उनले भने ।

अनेरास्ववियु पृथ्वी नारायण क्याम्पसका कार्यवाहक अध्यक्ष न्यौपानले राजनीति र साहित्य र राजनीति दुवैले समाज परिवर्तन गर्न सक्ने बताए । उनले भने, ‘साहित्य र राजनीति दुवै समाजका संवाहक हुन् । दुवैले खोजेको परिवर्तन नै हो ।’ उनले स्ववियु चुनाव जसरी पनि हुने र त्यसका लागि विद्यार्थीलाई तयारी रहन आग्रह गरे ।

कमेन्टहरु
Loading...