मुख्यमन्त्रीको जवाफ माग्दै गण्डकी प्रदेशसभामा विपक्षीको अवरोध

पोखरा, २३ माघ / मुख्यमन्त्रीको जवाफ माग्दै गण्डकी प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र समाजवादी पार्टीले संसद अवरुद्ध गरेका छन् ।

प्रदेशसभा नियमावली अनुसार सदनमा उठाईएका प्रश्नबारे सम्बन्धित मन्त्रीले ७ दिनभित्र जवाफ दिनुपर्ने नियम अनुसार मुख्यमन्त्रीको जवाफ मागदै संसद अवरुद्ध गरे ।

गएको माघ १४ गतेको बैठकमा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली सहित विभिन्न सांसदहरुले मुख्यमन्त्रीसँग समसामयिक बिषयमा प्रश्न उठाएर जवाफ मागेका थिए । प्रश्न उठाएको साता दिन कटिसके पनि मुख्यमन्त्रीले जवाफ नदिएको भन्दै प्रतिपक्षी सांसदहरुले सदन नै अवरुद्ध गरेका हुन् ।

कार्यसूची अनुसार शून्य समय र विशेष समयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । त्यसपछि सामाजिक विकास मन्त्री नरदेवी पुन र भौतिक पूर्वाधार विकास मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिए ।

त्यस पछि मुख्यमन्त्रीको जवाफ माग्दै समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले नियमापत्ती जनाए । मुख्यमन्त्रीले जवाफ नदिएसम्म सदन अघि नबढाउन सभामुखलाई आग्रह गरे ।
तर सभामुखले अर्को बैठकमा मुख्यमन्त्रीलाई उपस्थित गराउने भन्दै सदन अघि बढाउन लागे ।

काँग्रेस सांंसद मेखलाल श्रेष्ठले पनि नियमापत्ती जनाए । मुख्मन्त्रीको जवाफ खोज्दै उनले पनि सदन अघि नबढाउन सभामुखलाई आग्रह गरे । सभामुखले पुरानै जवाफ फर्काए । त्यसपछि काँग्रेस र समाजवादी पार्टीका सबै सांसद उठेर बैठकको विरोध गरेको थिए । संसद बिहीबार ११ बजे बन्ने गरि स्थगित भएको छ ।

कमेन्टहरु
Loading...