गण्डकी प्रदेश संसद चौथो दिन पनि स्थगित

पोखरा, २ चैत / गण्डकी प्रदेशसभा बैठक लगातार चौथो दिन पनि स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण बुधबारदेखि सदन कार्यसूचीमै प्रवेश नगरि स्थगन भैरहेको हो ।

प्रदेशसभा सचिवालय सम्बन्धि विधेयक र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा असन्तुष्टी जनाउँदै काँग्रेसले सदनमा उभिएरै विरोध गरेको हो । विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल आफ्ना माग पूरा नभएसम्म सदन यसैगरी अवरुद्ध भैरहने बताए ।

विधेयकमा भएको सचिवालय सञ्चालन तथा ब्यवस्थापन समितिलाई राजनीतिक संयन्त्र बनाउनुपर्ने र नयाँ नियुक्त हुने सचिवको अधिकार कटौति गर्नुपर्ने माग विपक्षीको छ ।

सत्तारुढ सांसदहरु संसदलाई राजनीतिक हस्तक्षेपबाट जोगाउनुपर्ने भन्दै राजनीतिक संयन्त्र बनाउन नहुने बताउँछन् भने विपक्षी दलहरु सत्तारुढ पार्टीको मात्रै एकलौटी हुने गरि सचिवालय सञ्चालन तथा ब्यवस्थापन समिति गठन गर्न व्यवस्था हटाउनु पर्ने माग छ ।

उनीहरुले संसदभित्रको नीति निर्माण र नियन्त्रण तथा सुपरिवेक्षणका लागि राजनीतिक समिति आवश्यक पर्ने माग गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने चारवटै राजनीतिक दलबाट १/१ जना प्रतिनिधि समितिमा राखिनुपर्ने उनीहरुको अडान छ । समितिले सचिवालयको बजेट निर्माण देखि भौतिक संरचना निर्माणको नीति बनाउने र सुपरिवेक्षण समेतको अधिकार दिएको छ ।

कमेन्टहरु
Loading...