गण्डकी प्रदेशको हिउँदे अधिवेसन सुरु

पोखरा, २४ पुस / गण्डकी प्रदेशको हिउँदे अधिवेसन बुधबारबाट सुरु भएको छ । गएको असोज १४ गतेदेखि बन्द बैठक बुधबारदेखि खुलेको हो । बैठकमा ४ राजनीतिक दलका नेताहरुले सम्बोधन गरेका छन् भने सुशासन सम्बन्धि विधेयक विधायन समितिको प्रतिवेदन सहित सदनमा दर्ता भएको छ ।

सदनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चालू बर्षमा ९५ प्रतिशत भन्दा बढी बजेट खर्च हुने दावी गरे । अघिल्लो बर्ष ६२ प्रतिशत मात्रै बजेट खर्चिएको गण्डकीले यसबर्ष करिब सबै बजेट खर्च गर्ने तयारीमा लागेको उनले सुनाए । उनले ठूलो जुलुस निकालेर मात्रै कालापानी र लिपुलेक संरक्षण नहुने भन्दै कुटनीतिक रुपबाट समाधान खोज्नुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी रवैयाले लोकतन्त्र खतरामा परेको बताए । उनले सरकारले गल्ती गरेपनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था आएको बताए । उनले महाराजाले जस्तै मै राज्य हुँ भन्ने धारणाको विकास हुँदै गएको बताए ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले एमसीसी मार्फत अमेरिकाले नेपालमाथी दादागिरी गरेको आरोप लगाए । ‘एमसीसी नेपालीको हितमा छ कि छैन ? यसले अमेरिकाको दादागिरी बढेको छ । यो सम्झौताले हाम्र्रो सुरक्षा प्रणाली कब्जा गर्ने रणनीति हो,’ उनले भने, ‘विदेशीको डलरले देश चल्दैन ।

समाजवादी पार्टीका हरिशरण आचार्यले राजनीतिक पार्टीपिच्छे फरक धारणा रहेका कारण विकासमा समस्या परेको बताए । ‘४ दलका ४ भाषा छन् । छुट्टाछुट्टै नीति छ । यस्तो अवस्थामा कसरी एकताको सन्देश प्रवाह हुन सक्छ ?,’ उनले भने, ‘ब्यवहारिकतामा जान नसक्ने हो भने नाराले मात्रै केही हुँदैन ।

यो अधिवेसनमा १८ महिनादेखि थन्किएर बसेको प्रदेशसभाको ब्यवस्थापन सम्बन्धी विधेयक पनि पास गर्ने तयारी छ । अघिल्लो बर्षको असार १४ मा टेवुल भएर विधान समितिमा पठाईएको विधेयक मर्यादाक्रममा सहमति नजुट्दा रोकिएको हो । केही दिनभित्रै त्यो विधेयक पनि सदनमा टेवुल गर्ने विधायन समितिका सभापति मोहन रेग्मीले जानकारी दिए । प्रदेशसभाबाट हालसम्म ३४ वटा विधेयक पास भएका छन् ।

कमेन्टहरु
Loading...