पोखरा, १३ वैशाख / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा लकडाउन खुकुलो पार्दै लैजाने बताएका छन् । बागलुङका दुबै जना कोरोना भाइरस संक्रिमित उपचार पश्चात निको भएर घर फर्किए पछि उनले गण्डकी प्रदेश अब ‘ग्रिन जोन’मा परेको बताए ।
उनले गण्डकी प्रदेशका नाकाहरुमा कडाइ गरेर गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा उत्पादन र निर्माणका काम थाल्ने बताए । उनले खाद्यान्न उत्पादन, कृषि र विकास निर्माणका योजनामा लकडाउन गर्न नहुने बताए ।
उनले उपप्रधानमन्त्री एवं उच्चस्तरीय समितिका संयोजकलाई फोन गरेर लकडाउनलाई खुकुलो बनाउन सुझाव दिए । विकास निर्माण र उद्योग धन्दाका मजदुरलाई सुरक्षित रुपमा राखेर काम अघि बढाउनुपर्ने उनको भनाई छ ।
गण्डकी प्रदेशमा करिब ५ हजार जनाको द्रूत परीक्षण । साढे ५ सयको पिसीआर टेष्ट भइसकेको छ । यही कामको निरन्तरता भए कोरोनाविरुद्ध जुध्नसक्ने हौसला प्राप्त भएको मुख्यमन्त्री गुरुङले सुनाए।
उनले गण्डकी प्रदेशका ११ वटै जिल्लामा अहिले कोरोना संक्रमण नभएकोले सीमानाका बन्द गर्दै आन्तरिकरुपमा लकडाउन विस्तारै खुकुलो बनाउनुपर्ने प्रस्ताव गरेका छन् । लकडाउनको आगामी रणनीतिबारे उनले पत्रकारहरुसँग सुझाव पनि लिए ।