फेवाताल संरक्षण गर्न बनाइएको सिल्टेसन ड्यामले बस्ती जोखीमा

सागर राज तिमिल्सिना
पोखरा, १५ जेठ/ फेवाताल संरक्षण गर्न बनाइएको हर्पन खोला सिल्टेसन ड्यामले बस्ती जोखीमा परेको भन्दै स्थानीयले ड्यामको उत्तर तर्फको भागमा ड्यामलाई अझ उचाइ थप गर्न माग गरेका छन् । बर्खा नलाग्दै जेठ १४ गते आएको बाढिका कारण ड्याम पुरै भरिएपछि पोखरा २३ डुडेको फाँटको बास्ती नै जोखीमा परेको स्थानीय उपेन्द्र पराजुलीले बताए ।

‘ड्याम भने बस्ती तल छ,’ पराजुलीले भने ‘ड्यामको उत्तर तर्फका भाग कम्तिमा १ मिटर माथी उठाउनु पर्छ, हैन भने बस्ति वर्षायामको बाढीले लैजान्छ ।’ पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा फेवातालमा आउने ढुङगा, माटो, बालुवा लगाएतका सामग्री रोक्नका लागि सिल्टेसन ड्याम निर्माण गरेको हो । हर्पन खोला, खहेर खोला, लौरुक खोला र बेत्यानी खोलामा सिल्टेसन ड्याम निर्माणको अन्तिम चरणमा छन् ।

ड्याम नै फुटेर बस्ती नै बगाउने हो कि भन्ने पिरलो गाँउलेको छ । बस्ती जोगाउन ड्यामको उत्तर तर्फका भागलाई थप गर्नुको कुनै विकल्प नभएको हर्पन खोला बस्ती संरक्षण समितिका अध्यक्ष चेतबहादुर क्षेत्रीले बताए । ‘जेठ मै आएको बाढीले ड्याम भरिएर बस्ती तर्फ आउदा जस्तो भयो,’ क्षेत्रीले भने ‘असार साउनमा त झन् ठुला ठुला बाढी आउछन्, यो त टेलर मात्रै हो फिल्म आउन बाँकी नै छ ।’ हर्पन खोलाको ड्याम मुनि करिब ३० घर परिवार बस्दै आएका छन् ।

फेवातालमा हर्पन खोला, अँधेरी खोला, लौरुक र बेतनी खोला मिसिन्छन् । विभिन्न ठाँउबाट बगेर आउने खोलाले वर्षायाममा बाढी पहिरोसहित तालमा मिसिन्छ । वर्षेनी ती खोलाबाट १ लाख घनमिटर सिल्ट तालमा जम्मा हुने महानगरपालिकाको तथ्यांक छ । तालको आयु बढाउने लक्ष्य र उद्देश्य सहित सिल्टेसन ड्याम निर्माण कार्य गत मंसिर देखि शुरु गरिएको हो । गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध जनाउँदै केही महिना पहिले काम समेत रोकेका थिए । ।

अँधेरी खोलामा एकसय मिटर लम्बाई र एक सय मिटर चौडाईको ड्याम बनेको छ । ड्यामको बेस ७ मिटर छ । अँधेरी खोलामा ड्याम बनाउन ९ करोड ६ लाख रुपैयाँ लागतमा सम्झौता भएको हो ।

हर्पन खोला र अँधेरी खोलामा १ सय मिटर लम्बाई र १ सय मिटर चौडाईको ४ मिटर गहिराईको पोखरी निर्माण गरिएको छ । फेवातालको मुख्य समस्याको रुपमा रहेका ती खोलाको बाढी नियन्त्रण मुख्य चुनौतिको विषय बन्दै आएको थियो । त्यसमा पनि हर्पन खोलाले बढी जटिलता सृजना गरेको छ । ड्याम निर्माणको जिम्मेवारी भने खड्क, कृष्ण पिके जेभी दाङ घोराहीले लिएको हो ।

हर्पन खोलामा ड्याम निर्माण गर्न ७ करोड ८८ लाख रुपैयाँको लागत छ । ९ मिटर बेस र माथिल्लो भाग ४ मिटरको फराकिलो बन्ने छ । बेतनी खोलामा पोखरा बनाउने काम भने स्याङजाको श्री गीता कन्स्ट्रक्सनसँग सम्झौता गरिएको हो । फेवाताल संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य सहित महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाखको पाँच वटा पोखरी निर्माण कार्य भएको हो ।

कमेन्टहरु
Loading...