कमसल सामाग्री प्रयोगले फेवाताल सिल्टेसन ड्याम गुणस्तरहीन बन्यो–उपभोक्ता

पोखरा, २६ माघ/ ठेकेदारलाई काम टुग्याउने चटारो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई गर्व गर्न हतारो । हतारो र चटारोले गुणस्तरहीन काम हुन पुगेको छ । तीन महिना अघि शुरु गरिएको फेवाताल संरक्षणको लागि बनाइएका सिल्टेसन ड्याम गुणस्तरहीन देखिएको छ ।

कमसल सामाग्रीको प्रयोगले फेवातालको आयु लम्ब्याउने नभई झन घटाउने भन्दै स्थानीय बासिन्दा चिन्तित छन् । फेवातालसँग ड्याम नै फुटेर बस्ती नै बगाउने हो कि भन्ने पिरलो गाँउलेको छ ।

पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा फेवाताल संरक्षण गर्न तालमा मिसिने विभिन्न खोलामा सिल्टेसन ड्याम निर्माण शुरु गरिएको छ । काम धमाधम भईरहेको छ । तर त्यसको गुणस्तरीयता प्रति महानगरपालिका र गण्डकी प्रदेश सरकार सचेत छैनन् । स्थानीय बासिन्दाले गुणस्तरीय काम नभएको भन्दै विरोध जनाएपनि काम भने फत्ते हुने संघारमा छ ।

‘काम शुरु भएदेखि नै गुणस्तरीय सामान प्रयोग गर्न आग्रह गर्यौं । गुणस्तरहीन भयो भन्दै महानगरपालिकालाई सचेत गरायौं । तर गुनासो सुनिएन ।’ सिल्टेसन ड्यामको प्रत्यक्ष निरिक्षणमा पुगेका सञ्चारकर्मीको टोलीसँग स्थानीय जनप्रतिनिधि समेत रहेका भरतराज भण्डारीले भने–‘खोलाकै बालुवा प्रयोग गरिएको छ । पाँगो मिसिएको बालुवा कमसेकम धोएर प्रयोग गरिदेउ भन्दा पनि सुनन् । ड्याम निर्माण पुरा हुदैं छ तर गुणस्तरीय काम भने भएको छैन् ।’ पोखरा महानगरपालिका वडा नं २३ का जनप्रतिनिधि समेत रहेका भण्डारीले खोलाको बालुवालाई बकेटले उठाएर सिमेन्टको मात्रा नमिलाई प्रयोगमा ल्याउँदा कामले पूर्णता पाएपनि गुणस्तरप्रति ध्यान कसैले नदिएको गुनासो गरे ।

फेवाताल सिल्टेसन ड्याम
फेवाताल सिल्टेसन ड्याम

‘महानगरपालिकामै पुगेर इन्जिनियरसँग पनि कामको गुणस्तरप्रति चिन्ता व्यक्त गरेपनि गम्भीर्यता देखाएनन् ।’ उनले भने–‘यही ड्याम वर्षायाममा भत्किए बस्ती नै बगाउने जोखिम छ ।’ उनका अनुसार ड्याम भन्दा तल अँधेरी खोला र हर्पन खोला किनारमा बसोबास गर्ने ७ सय घरधुरी प्रत्यक्ष जोखिममा रहेका छन् ।

फेवातालमा हर्पन खोला, अँधेरी खोला, लौरुक र बेतनी खोला मिसिन्छन् । विभिन्न ठाँउबाट बगेर आउने खोलाले वर्षायाममा बाढी पहिरोसहित तालमा मिसिन्छ । वर्षेनी ती खोलाबाट १ लाख घनमिटर सिल्ट तालमा जम्मा हुने महानगरपालिकाको तथ्यांक छ । तालको आयु बढाउने लक्ष्य र उद्देश्यसहित सिल्टेसन ड्याम निर्माण कार्य गत मंसिर देखि शुरु गरिएको हो । गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विरोध जनाउँदै काम समेत रोक्न आग्रह गरेका छन् ।

‘भोलि विपद आउन सक्छ । क्वालिटीमा ध्यान दिन आग्रह गर्यौं । फेवातालको आयु लम्ब्याउने नाममा बनाईएको पोखरीले बस्ती उठाउने काम गर्नु हुदैन् ।’ स्थानीय कार्कीको तहरा बस्ती संरक्षण समितिका अध्यक्ष समेत रहेको स्थानीय बासिन्दा प्रेम भण्डारीले भने–‘काम बलियो हुनुपर्छ । भौतिक संरचना जोगिनुपर्छ । ड्याम फुट्यो भने बस्ती बग्छ । ताल पुरिन्छ । गुणस्तरहीन कमले संरक्षणको नाममा विनास हुन्छ । हामीले घचघच्यायौं, सुनुवाई भएन् ।’

अँधेरी खोलामा एकसय मिटर लम्बाई र एक सय मिटर चौडाईको ड्याम बनाईदैं छ । ड्यामको बेस ७ मिटर छ । बेसबाट माथि उठाउँदा केवल ढुंगा मात्रै खाँदिएको छ । सिमेन्टको मसला प्रयोग नगरिएको उनले दावी गरे । ‘हचुवाकै भरमा अन्धाधुन्ध काम भएको छ । मात्रा मिलाइएको छैन् । सिमेन्टको काममा मिक्सचर प्रयोग गर्नुपथ्र्यो त्यो पनि छैन् ।’ उनको भनाई थियो । अँधेरी खोलामा ड्याम बनाउन ९ करोड ६ लाख रुपैयाँ लागतमा सम्झौता गरिएको छ ।

निरिक्षणकै क्रममा फेवातालको मुहान हर्पन खोलामा समेत ड्याम निर्माण गरिदैं छ । पानीको सतहमै ढुंगा चिन्ने काम गरिएको छ । पानीको सतहसम्म राखिएको ढुंगामाथिबाट सिमेन्ट प्रयोग गरिएको छ । बेस कंक्रिट छैन् । हिउँदे पानीले नै बनाईरहेको संरचना भत्किने खतरा बढ्दै गएको छ । वर्षामा आउने बाढी पहिरोलाई रोक्ने र छेक्ने गरी बनाईएको छैन् । ड्याम नै वर्षामा बग्ने सम्भावना गाँउलेले औल्याईरहेका छन् ।

फेवाताल संरक्षण गर्न तालमा मिसिने खोलाहरुमा सिल्टेसन ड्याम निर्माण कार्य धमाधम छ । पाँच वटा सिल्टेसन ड्याम बनाईदैं छ । तालको सिरान घाँटीछिना, अँधेरी खोला, लौरुक खोला र बेतनी खोलामा ड्याम बनाईएको छ । घाँटीछिना र अँधेरी खोलामा १ सय मिटर लम्बाई र १ सय मिटर चौडाईको ४ मिटर गहिराईको पोखरी निर्माण गरिएको छ ।

लौरुक र बेतनीमा भने ५० मिटर लम्बाई र ५० मिटर चौडाईको पोखरी निर्माणको चरणमा छ । फेवातालको मुख्य समस्याको रुपमा रहेका ती खोलाको बाढी नियन्त्रण मुख्य चुनौतिको विषय बन्दै आएको थियो । त्यसमा पनि हर्पन खोलाले बढी जटिलता सृजना गरेको छ । ड्याम निर्माणको जिम्मेवारी भने खड्क,कृष्ण पिके जेभी दाङ घोराहीले लिएको हो ।

ठेकेदार कम्पनीका साईट इन्चार्ज कमलराज वलीले महानगरपालिकाको इष्टिमेट र प्राविधिकको निर्देशन अनुसार काम गरिएको दावी गरे । ‘महानगपालिकाले निर्देशन र इष्टिमेट अनुसार स्थानीय स्रोत र साधन उपयोग गरेर निर्माण गरिरहेका छौं ।’ वलीले भने–‘गुणस्तरीय काम नभएको भए निर्माणकै अवस्थामा बन्द गर्नुपर्ने थियो । अहिले अन्तिम समयमा आएर गुनासो गर्नुको अर्थ छैन् ।’

उनका अनुसार ६ सय कामदार ड्याम निर्माण कार्यमा खटिरहेका छन् । अँधेरी खोलामा निर्माणाधिन ड्यामको कटअप, ड्यामभित्रको सामाग्री निकाल्ने र ड्यामकै इन्बैंकको काम बाँकी रहेको सुनाए । उनका अनुसार ड्यामको दुवै तर्फ ३ सय मिटर लम्बाईको इन्बैंकको काम गर्नुपर्ने छ । हर्पन खोलामा ड्याम निर्माण गर्न ७ करोड ८८ लाख रुपैयाँको लागत छ । ९ मिटर बेस र माथिल्लो भाग ४ मिटरको फराकिलो बन्ने छ ।

बेतनी खोलामा पोखरा बनाउने काम भने स्याङजाको श्री गीता कन्स्ट्रक्सनसँग सम्झौता गरिएको हो । पोखरा महानगरपािलकाले पनि गुणस्तरीय काम नभएको भन्दै भत्काएको थियो । केही समय अघि मात्रै महानगरपालिकाका इन्जिनियर खेम तिमिल्सिनाले निरिक्षणकै क्रममा गुणस्तरीय काम नभएको भन्दै भत्काएर फर्किएका थिए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गुणस्तरीय काम नभएको अनुगमन गर्ने बताए । ‘ गुणस्तरहीन बाँध बनाउनलाई महानगरपालिकाको बजेट सस्तो छैन् । आजभोलि नै निरिक्षण गरी प्राविधिक रुपमा गुणस्तरीय र दीर्घकालिन हुनुपर्छ ।’ उनको भनाई थियो ।’ फेवाताल संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको समन्वयमा २८ करोड १६ लाखको पाँच वटा पोखरी निर्माण कार्य अघि बढाएको हो ।

कमेन्टहरु
Loading...