कास्कीको ढिकुरपोखरी गाविस वडा नं. ९ नेपालकै पहिलो खुला वातावरणमैत्री वडा घोषित

विजय नेपाल

पोखरा, ९ जेठ /कास्कीको ढिकुरपोखरी गाविसको वडा नं. ९ नेपालकै पहिलो वातावरणमैत्री वडा घोषित भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत वातावरणसम्बन्धी घर परिवार र वडा स्तरमा निर्धारण गरिएका आधारभूत र विकसित सूचक पूरा गरेकोमा उक्त वडा नेपालकै पहिलो वातावरणमैत्री वडा घोषित भएको हो ।

कास्कीको ढिकुरपोखरी गाविस वडा नं. ९ नेपालकै पहिलो खुला वातावरणमैत्री वडा घोषित
कास्कीको ढिकुरपोखरी गाविस वडा नं. ९ नेपालकै पहिलो खुला वातावरणमैत्री वडा घोषित

गाविसको वडा नं. ९ स्थित सेराचौरमा शनिबार आयोजित समारोहमा कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले वडा वातावरणमैत्री भएको घोषणा गर्दै दीर्घकालीनरुपमा सरसफाइमा ध्यान दिन स्थानीयलाई आग्रह गरे । उनले कास्की जिल्ला नेपालकै पहिलो खुला दिसामुक्त जिल्ला भएको उल्लेख गर्देै वडासहित ढिकुरपोखरीहुँदै सिंगो कास्की जिल्लालाई नै नेपालकै पहिलो वातावरणमैत्री जिल्ला बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

वातावरणमैत्री वडा बन्नका लागि प्रस्ताविक घरपरिवार तहका सूचकअन्तर्गत एक घर एक धारा, प्यानसहितको चर्पी प्रयोग, आवासक्षेत्र भित्र फोहोर व्यवस्थापन, व्यक्तिगत सरसफाइ, खाना खानुअघि र पछि हात धुने, धूवाँरहित चुला प्रयोग, गोबरको उचित प्रयोग थियो भने वडास्तरका सूचकमा खानेपानीको उचित संरक्षण, फोहोर मैला व्यवस्थापन, पोखरी संरक्षण, खुला दिसामुक्त क्षेत्र, सुरक्षित क्षेत्र निर्धारण, हरियाली प्रबद्र्धन लगायत निर्धारण गरिएको थियो ।

आवश्यक सूचक पूरा गरे नगरेकोबारे गठित अनुगमन समितिले गरेको मूल्यांकनका आधारमा वडालाई वातावरणमैत्री घोषणा गरिएको गाविस सचिव स्थानेश्वर ढुंगानाले बताए । यसअघि सरकारद्धारा २०६८ सालमा राष्ट्रिय वातावरण संरक्षण पुरस्कार प्राप्त गरिसकेका ढुंगानाले संयोगवस ढिकुरपोखरीमा कार्यक्षेत्र रहँदा यहाँबाट अभियान थालनी भएकोमा खुसी व्यक्त गरे । गाविसको वडा नं. ९ मा १ सय ७७ घरधुरी छन् ।

कार्यक्रममा सहभागी बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले ढिकुरपोखरीको सिको विस्तारै अन्य गाविसले पनि सिक्नुपर्ने बताए । घोषणा कार्यक्रममा पंचेबाजासहित गाविसबासी ठूलो संख्यामा उपस्थित थिए । उनीहरुले सरसफाईलाई जोड दिँदै अघि बढ्ने प्रण गरे । कास्कीको उत्तरी गाविस ढिकुरपोखरी पोखराबाट १ घण्टामा मोटरबाटोबाट पुग्न सकिन्छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय वातावरणमैत्री स्थानीय शासन कार्यक्रमअन्तर्गत पहिलो चरणमा कास्कीका ५ गाविसमा यो कार्यक्रम लागू गरिएको छ । ढिकुरपोखरीसहित भदौरेतामागी, सार्दीखोला, पार्चे र थुम्की गाविसमा आवश्यक सूचक दिएर वडास्तरमा सर्वसाधारणलाई सचेत पारिएको छ । आगामी दिनमा क्रमशः वडा तथा गाविसलाई वातावरण मैत्री बनाउँदै लगिने स्थानीय विकास
अधिकारी भण्डारीले जानकारी दिए । कास्की २०६८ सालमा नेपालमै पहिलो पटक खुला दिसा मुक्त जिल्ला घोषित भएको थियो ।

 

कमेन्टहरु
Loading...