धर्मकाया मण्डला निर्माणस्थल काहुँडाडामा बुद्ध जयन्ती मनाइयो

पोखरा, २५ बैशाख/ धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले २५ सय ६४ औं बुद्ध जयन्ती मनाएको छ। कोभिड १९ कोरोना भाइरसको महामारीले लकडाउनको अवस्थामा पनि पोखरा ११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला निर्माणस्थलमा बुद्ध पुजा, शान्ति ध्यान, बुद्ध जयन्तीबारे विचार प्रस्तुती गरी जयन्ती मनाएको हो।

लकडाउनको विषम परिस्थितीमा बौद्ध महासंघले बुद्ध जयन्ती सामाजिक दुरी कायम गर्दै बौद्ध गुम्बा भित्र, बिहार र घर घरमा मनाउने आव्हान अनुसार धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणस्थलमा जयन्ती मनाएको हो ।

कार्यक्रममा सहभागी स्थानीय र धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कार्यवाहक सचिव, सदस्यहरुले बोधगयाबाट ल्याइएको पिपलबोटमा बुद्ध झण्डा, लुंदा फेर्दै पुजाका साथ तीन मिनेट शान्ति ध्यान गरिएको थियो।

कार्यक्रममा धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका कार्यवाहक सचिव पुर्ण लामा, कार्यसमिति सदस्य इन्द्रबहादुर गुरुङ, हुमबहादुर गुरुङ र सहभागीहरुले बुद्ध, बुद्ध जयन्ती र धर्मकाया बुद्ध मण्डलाको महत्वकोबारे विचार व्यक्त गर्नुभएको थियो।

पोखरासँगै रहेको पोखरा ११ काहुँडाडा विकास र समृद्धिको केन्द्र हुन सक्ने धेरै संभावना भए पनि विकास हुन नसकेका कारण बिशाल बुद्धमुर्तिसहितको धर्मकाया बुद्ध मण्डला निर्माण गरी पर्यटकीय केन्द्र बनाउने, पोखराको पहिचान एवम मुलुककै गौरबको परियोजनाको रुपमा अघि बढाइएको छ।

कमेन्टहरु
Loading...