क्रिकेट रंगशाला निर्माणका लागि पोखरेली ट्याक्सी सेवा प्रा.लि.को सहयोग

पोखरा, ६ फागुन / पोखरेली ट्याक्सी सेवा प्रा.लि. पोखरामा आबद्ध ट्याक्सीहरुमा नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’का पोस्टरहरु टाँसिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्धाणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणमा सहयोग गर्ने उद्देश्यले यो चलचित्र बनाइएको हो ।

चलचित्रको प्रचारप्रसारमा सघाउने उद्देश्यले पोस्टरहरु निःशुल्क टाँसिएको प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए । ‘सामाजिक उत्तरदात्यिव वहन गर्ने उद्देश्यले पोस्टर टासेर सहयोग गरिएको हो,’ उनले भने ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा अमरसिंहचोकस्थित खुल्ला चौरमा कार्यक्रम भएको हो । उक्त अवसरमा प्रा.लि.मा आबद्ध ३५ वटा सेवा केन्द्रका ५ सय वटा ट्याक्सीमा स्टिकर टासिएको अध्यक्ष तिवारीले जानकारी दिए । कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) पनि सहभागी थिए ।

सोही अवसरमा पोखरेली ट्याक्सी सेवा प्रा.लि.ले क्रिकेट रंगशाला निर्माणार्थ ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । व्यवासायीहरुको सहयोग र कम्पनीको कोषबाट उक्त रकम सहयोग गरिएको तिवारीले जानकारी दिए । प्रा.लि.का अध्यक्ष तिवारीले सिताराम कट्टेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का संस्थापक अध्यक्ष ऐनकुमार साईले सोही अवसरमा ५१ हजार १ सय ११ रुपैयाँ रंगशाला निर्माणमा सहयोग गरे । भीमपथ बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज श्रेष्ठले ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरे । राष्ट्रिय भावनाका साथ आफू रंगशाला निर्माण अभियानमा लागेको बताउँदै कलाकार कट्टेलले सहयोग गर्ने पोखरेली ट्याक्सी सेवा प्रा.लि. लगायत सबैलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा महासंघका उपाध्यक्ष ऐनकुमार साई, कास्की जिल्ला यातायात समन्वय समितिका अध्यक्ष केदार पौडेल, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी, कलाकार सिताराम कट्टेल, मजदुर संगठनका अध्यक्ष विष्णुबहादुर खत्री लगायतले बोलेका थिए । प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रा.लि.का सञ्चालक पूर्णबहादुर गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...