कोरोनाका कारण गण्डकीमा नाका बन्द गर्ने निर्णय

पोखरा, १० चैत/ गण्डकी प्रदेश सरकारले मंगलबार देखी गण्डकी प्रदेश प्रबेश गर्ने नाका बन्द गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारी साधन मात्र प्रवेश हुने भएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको प्रथम बैठकले मंगलबार देखि गण्डकी प्रदेशका सबै नाका एक साताका लागि बन्द गरी सुरक्षा व्यवस्था अपनाइने निर्णय गरेको हो ।

बैठकमा निर्णय सार्वजनिक गर्दै गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले गण्डकीमा अत्यावश्यकीय मालबाहक सामान बाहेक सर्वसाधारणलाई प्रदेश प्रवेश गर्ने नाकामा रोक्ने निर्णय भएको बताए । प्रदेशको राजधानी छिर्ने मुख्य नाकाहरुमा पृथ्वीराजमार्गको आँबुखैरेनी, सिद्धार्थ राजमार्गको रामदीबाट अत्यावश्यक बाहेक सबै बन्द गर्ने निर्णय गरेको शर्माले बताए । ती नाकाहरुबाट अत्यावश्यक मालबाहक सामान, अस्पतालमा प्रयोग हुने सामग्री, दूध, पानी, लगायतका सवारी साधन प्रवेश गर्न पाउने छन् भने अन्य बन्द हुनेछन् ।

बैठकले अस्पतालहरुमा ओपीडी सेवा बन्द गरी इमर्जेन्सी सेवामात्र संचालन गर्ने निर्णय गरिएको छ । ‘हेल्लो डाक्टर’ कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने निर्णय भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले हाललाई प्रयोग गरेको हेल्लो डाक्टरको रुपमा ०६१–५२४०७४ मा फोन गरेर थप जानकारी लिन सक्नेछन् । कोरोनाको सम्बन्धमा त्यहाँँ बिहान ८ देखि बेलुका ५ बजेसम्म फोन गरेमा डाक्टर उपलब्ध हुनेछन् ।

कोरोना संक्रमण व्यवस्थापनका लागि लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा लैजाने र नेगेटिभ देखिए सुरक्षित रुपमा घर पठाइने भएको छ । बैठकले ६० बेडको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई डेडिकेटेड कोरोना संक्रमण व्यवस्थापनका लागि अस्पताल बनाउने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।

मुख्यमन्त्री विपत् व्यवस्थापन कोषमा कम्तीमा १० करोड रुपैयाँ राख्ने बारेमा छलफल भएको जानकारी दिए । प्रदेशको आवश्यकता हेरेर ‘लक डाउन’ गर्नुपर्ने अवस्था आए सोच्न सकिने तर अहिलेको अवस्थामा समस्या नरहेको बताए ।

यस्तै, पोखरा, ५ मालेपाटनस्थित कृषिको तालिम केन्द्रको होस्टेललाई पहिलो लेवलमा क्वारेन्टाइनको रुपमा विकास गर्ने निर्णय भएको छ । जसमा ६० वटा बेड रहने छन् । पछि आवश्यकता अनुसार पोखराको लामाचौरस्थित मातृशिशु अस्पताललाई समेत क्वारेन्टाइनको रुपमा विकास गरिने भएको छ ।

कमेन्टहरु
Loading...