कास्की काँग्रेस द्वारा सावधानी अपनाउन अपिल

पोखरा, ९ चैत । नेपाली काँग्रेस कास्कीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन लागि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापति सहित आइतबार बसेको आकस्मिक बैंठकले त्यस्तो आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए ।

विश्वका अधिकांश राष्ट्रमा यसको संक्रमणसँगै त्रास बढिरहेको भन्दै बैठकपछि जारी विज्ञप्तिमा सचेत रहनु नै सबैभन्दा उत्तम विकल्प देखिएकाले सजग, सचेत र स्वयंम जिम्मेबार बन्दै आफू र अरुलाई समेत जोगाउने गरी तत्पर रहन अपिल गरिएको छ ।

कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीद्वारा जारी विज्ञप्तिमा विषम परिस्थितिमा आम उपभोत्ताहरुमा खाद्यान्न लगायत अत्यावश्यक सेवामा समेत कृत्रिम अभाव महसुस हुनथालेकाले त्यसको निराकरणका लागि तिनै तहका सरकारको ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा आर्थिक क्षेत्रमा परेको प्रतिकुल असर न्यूनिकरण गरी आम नागरिकलाई राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ ।

त्यस्तै, पार्टीका सबै तहलाई नागरिक सेवामा समर्पित भई आमनागरिक र आफूलाई समेत सुरक्षित राख्न अनुरोध गरिएको छ ।

कमेन्टहरु
Loading...