पोखरामा बोलबम

पोखरा, २४ साउन/केदारेश्वर मन्दिर महादेवमणि सेवाश्रम समितिको आयोजनामा पोखरामा साउन सोमबारसँगै बोलबम जलयात्रा कार्यक्रमको चौथो साता पनि भव्य भएको छ । बैदामस्थित केदारेश्वर मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजन शिवलिंगमा जल चढाउन र पूजाआजा गर्न पुगेका थिए ।

पोखरामा बोलबम तस्विर ः सञ्जय शाक्य
पोखरामा बोलबम तस्विर ः सञ्जय शाक्य

शिव भक्तजन सोमबार दिउँसो अबेरसम्म मन्दिरमा पूजाआजा गर्दै नाचगान गरेका थिए । भगवान शिवको लागि साउन महिना र सोमबार प्रिय महिना मानिने भएकोले भक्तजन निराहार ब्रत बसी शिवको पूजाआजा गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ ।

बोलबम संयोजक शंकर खरालका अनुसार १४ वर्षअघि केदारेश्वरबाट यस क्षेत्रमा सुरु भएको बोलबम कार्यक्रम विस्तारै व्यापक बन्दै गएको छ । हरेक शिव मन्दिरमा यतिखेर भक्तजनको घुइँचो देखिन्छ । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ भएको बोलबम कार्यक्रमको लागि जल लिन भक्तजन बगरस्थित गाईघाट पुगेका थिए ।

गाईघाटमा पनि कास्कीसहित छिमेकी जिल्लाबाट आएका शिव भक्तजन सेतीकिनारमा जम्मा भएका थिए । उनीहरु बोलबमको नारासहित भजनकीर्तन गर्दै ८ किलोमिटर सडक पैदलयात्रा गरी बोलबमधाम बैदाम पुगेका हुन् । भक्तजनले गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाममा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउनुलाई संयोग मान्छन् । यसरी ८ को संयोजक सायदै अन्त कतै पाइन्छ ।

कमेन्टहरु
Loading...