डुंगा दौडमा बाराही ए प्रथम, मंगलबार सडक महोत्सव र पर्यटक दौड

पोखरा, २९ चैत / पोखराको फेवा किनारमा जारी तेह्रौं फेवा नव बर्ष महोत्सव अन्तर्गत सोमबार विहान आयोजित डुंगा दौड प्रतियोगितामा बाराही घाट समूह ए प्रथम भएको छ । नौ टिमले भाग लिएको प्रतियोगितामा स्वीमिङ पुल घाट द्वितीय र बाराही घाट समूह डी तृतीय भए । सान्त्वना पुरस्कार भने बाराही घाट बी ले प्राप्त गरेको छ ।

डुंगा दौडमा बाराही ए प्रथम
डुंगा दौडमा बाराही ए प्रथम

विजेताले क्रमशः १५ हजार, १० हजार, पाँच हजार र सान्त्वनाले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । एक प्रतियोगी समूहमा तीन जना रहेका थिए । महोत्सव स्थल बसुन्धरा पार्कबाट सुरु भएको डुंगा दौडका सहभागी बाराही घाट घुमेर पुनः महोत्सवस्थल फर्कंदा तीन किलोमिटर दुरी तय गरेका थिए । प्रतियोगितामा बाराही घाटका चार समूह, तालापारी समूह, गौरीघाट, स्वीमिङपुल घाट र बेगनास तालका दुई समूह गरी नौ समूहले भाग लिएका थिए ।

संघका अध्यक्ष भरतराज पराजुलीले उद्घाटन गरेको कार्यक्रमका विजेतालाई संघका पूर्व अध्यक्ष गोविन्दराज पहारी, महोत्सवका संयोजक एवं प्रथम उपाध्यक्ष विकल तुलाचन, संघका कोषाध्यक्ष राजेन्द्र ढकाल, खेलकूद उपसमितिका तिलकबहादुर अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए । खेमवहादुर गुरुङ, एवन रंजीत र कृष्ण गिरीले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । आगामी बैशाख २ गतेसम्म संचालन हुने महोत्सव अन्तर्गत सोमबारको तालिकामा बद्री पंगेनी, प्रतिी आले, हाँस्य कलाकार राजा राजेन्द्र र लाइभ ब्याण्ड तर्फ सुगम पोखरेल र भ्रिक्ट्रीको प्रस्तुती समेटिएका थिए । अन्य नाचगान र दोहोरीका कार्यक्रम पनि महोत्सवमा रहेका थिए । महोत्सवमा दर्शकको उपस्थित बढ्दो क्रममा रहेको महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए ।

कमेन्टहरु
Loading...